लण्डन, १६ कात्तिक । बेलायतले दोस्रो पटक लकडाउन (बन्दीबन्दी)को घोषणा गरेको छ । शनिबार बेलायतका प्रधानमन्त्री बोरिस जोन्सनले पत्रकार सम्मेलन गरी आगामी बिहीबारदेखि लागू हुने गरी चार हप्ताका लागि बन्दाबन्दीको घोषणा गरेका छन् । यसअघि यही वर्षको मार्च २३ देखि पहिलोपटक बन्दाबन्दी गरेर जुलाइमा खुला गरिएको थियो ।
यसपटकको बन्दाबन्दीमा पहिलेजस्तो स्कूल, कलेज तथा विश्वविद्यालय भने बन्द हुने छैनन् । अत्यावश्यक वस्तुबाहेकका अन्य पसल पूर्णरूपमा बन्द रहने बताइएको छ ।
हस्पिटालिटी क्षेत्रमा रेस्टुरेन्ट र पबहरू बन्द रहने भए पनि टेक–वे पसल भने खुल्ने बताइएको छ । पछिल्लोपटक कोरोना संक्रमणको संख्या एक्कासी बढेपछि कुन तहको बन्द गर्ने भन्ने सवालमा सरोकारवालासँग करिब तीन हप्ता गरेको छलफलबाट बन्द गर्ने निष्कर्षमा सरकार पुगेको हो । आगामी डिसेम्बर २ तारिखपछि बन्दाबन्दी अलि खुकुलो हुने र सबै काममा फर्कन सजिलो हुने बताइएको छ ।