– शम्भु श्रेष्ठ
साथी केशवबहादुर थापाले आफ्नो फेसबुकवालमा राखेको यस कार्टुनले मन छोयो । कार्टुनिष्टले यो कार्टुन बनाउँदा जे जस्तो सोचले बनाएको भए पनि अहिले सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)भित्र चर्कंदै गएको विवादको विम्व यो कार्टुनमा देखिन्छ । नेकपाका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ अहिले ठ्याक्कै यो कार्टुनले देखाएको धरातलमा उभिएका छन् । कार्टुनको तल ‘अर्कालाई लात हान्नु अगाडि म कहाँ उभिएको छु भन्ने पनि हेक्का राखौं’ भनिएको छ ।
पक्कै पनि दुई अध्यक्षबीच केही न केही समस्या छ । पार्टी अध्यक्ष तथा प्रधानमन्त्री ओलीमा आफूलाई शक्तिशाली अध्यक्ष तथा प्रधानमन्त्री हुँ भन्ने घमण्ड पलाएको छ । अर्का कार्यकारी अध्यक्ष प्रचण्डमा म त निरीह भए भन्ने मनोविज्ञान व्याप्त छ । यही घमण्ड र मनोविज्ञानको फाइदा पार्टीभित्रका बिचौलियाहरुले उठाउन हिँडेका छन् । ओली र प्रचण्डबीचको लडाइँमा जित यिनै बिचौलियाहरुको हुनेछ । हार ओली र प्रचण्डकै हुने निश्चित छ ।
नेकपा एमाले र माओवादी केन्द्रबीच चुनावी तालमेल हुँदै पार्टी एकीकरण भएपछि आम जनता अब देशमा राजनीतिक स्थायित्व, आर्थिक समृद्धिको बाटो खुल्यो भनेर उत्साहित बनेका थिए । वास्तवमा यो एकता नेपाल कम्युनिष्ट पार्टीका लागि देश बनाउने ऐतिहासिक अवसर थियो । तर आज आएर जनता निराश छन् । कोरोना कहरमा पनि जनताले आफूले भोट दिएर सत्तामा पु¥याएका नेताबाट कुनै राहत पाउन सकेनन् । दुईतिहाइको सरकार आम जनताका लागि आकाशको फल बनेको छ । जताततै सरकारको आलोचना र विरोधको स्वर गुञ्जँदैछ ।
यस्तो अवस्थामा पार्टी एकता गर्दा भएको सहमति कार्यान्वयन गर्दै कम्युनिष्ट आन्दोलनलाई अरु सुदृढ र बलियो बनाउँदै समाजवादको लक्ष्यमा अगाडि बढ्नुपर्नेमा दुई अध्यक्षबीच विवाद चुलिनु राम्रो कुरा होइन । पार्टीभित्र विवाद, अन्तरविरोध चर्किन्छ । त्यसलाई कम्युनिष्ट पार्टीजस्तो फलामे अनुशासन भएको संगठनले विधि, विधान र पद्धतिसम्मत ढंगले हल गर्नुपर्छ । तर, अहिले नेकपामा उत्पन्न विवादलाई विधिसम्मत ढंगले हल गर्न खोजेको देखिँदैन । महासचिव विष्णु पौडेल नेतृत्वको कार्यदलले लिकबाट बाहिर जान खोजेको पार्टीलाई लिकमा ल्याउने प्रयास त ग¥यो । तर, फेरि नेकपा लिकबाट बाहिर गएर दुर्घटनाग्रस्त हुने त होइन भन्ने चिन्ता आम कार्यकर्तामा छाएको छ ।
किन यस्तो भयो त ? पक्कै पनि दुई अध्यक्षबीच केही न केही समस्या छ । पार्टी अध्यक्ष तथा प्रधानमन्त्री ओलीमा आफूलाई शक्तिशाली अध्यक्ष तथा प्रधानमन्त्री हुँ भन्ने घमण्ड पलाएको छ । अर्का कार्यकारी अध्यक्ष प्रचण्डमा म त निरीह भए भन्ने मनोविज्ञान व्याप्त छ । यही घमण्ड र मनोविज्ञानको फाइदा पार्टीभित्रका बिचौलियाहरुले उठाउन हिँडेका छन् । ओली र प्रचण्डबीचको लडाइँमा जित यिनै बिचौलियाहरुको हुनेछ । हार ओली र प्रचण्डकै हुने निश्चित छ ।
यो कुरा दुई अध्यक्षले नबुझेको पनि होइन । तर, यी दुई अध्यक्षलाई लडाएर झिल्ली झार्ने बिचौलियाका कारण प्रचण्डभन्दा बढी ओली घेरिएका छन् । यिनै बिचौलिया बिहान खुमलटार पुगेर एउटा कुरा गर्छन्, बेलुकी बालुवाटार पुगेर अर्कै कुरा गर्छन् । त्यसैले समस्या समाधान गर्नेभन्दा पनि समस्यालाई चर्काएर आफ्नो स्वार्थपूर्ति गर्ने बिचौलियाबाट ओली बढी सजग हुनुपर्ने देखिन्छ । अन्यथा, माथि कार्टुनमा भनेझैँ ओलीले पछाडिबाट प्रचण्डलाई लात्तले त हान्लान्, त्यसपछि ओलीलाई जोगाउने त्यस ठाउँमा कोही हुने छैनन् ।