काठमाडौं, १७ कात्तिक । नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष तथा वरिष्ठ उपाध्यक्षका उम्मेदवार चन्द्रप्रसाद ढकालले विश्व महामारीको रुपमा फैलिएको कोभिड–१९ का कारण संकटमा रहेका साना तथा मझौला व्यवसायलाई बचाउन महासंघको अबको नेतृत्व सबल र सक्षम हुनुपर्ने बताएका छन् ।
उपाध्यक्ष ढकालले कारोना महामारीका कारण उद्योग र व्यवसाय क्षेत्र सबैभन्दा बढी मारमा परेकोले सम्भावित आर्थिक संकटलाई पार लगाएर निजी क्षेत्रको प्रवद्र्धनमार्फत देशको अर्थतन्त्रलाई ओत प्रदान गर्न अबको महासंघमा दरिलो नेतृत्व आवश्यक रहेको बताएका हुन् ।
आज काठमाडौंमा उनको टिमका पदाधिकारीसहितका उम्मेदवारहरुसँगको अन्तक्र्रियामा उनले भने, ‘कोभिडका कारण हामीले इतिहासमै कहिल्यै नसोचेको क्षति भोगेका छौं र अझै हामीलाई केकस्तो जटिलताको सामना गर्नुपर्ने हो भन्ने स्पष्ट भइसकेको छैन त्यसैले पनि देशको उद्योग एवं समग्र व्यापार व्यवसायलाई बचाईर राख्न र संरक्षण प्रदान गर्न पनि हामीलाई बलियो काँध चाहिएको छ’, उनले भने, ‘त्यसैले हामीले सही र सक्षम नेतृत्व चुन्नुपर्ने बेला आएको छ, महासंघको आगामी नेतृत्वले मुलुकको यो जटिल परिस्थितिलाई सहजतातर्फ उन्मुख गराउन महत्वपूर्ण भूमिका निर्वाह गर्नुपर्ने हुन्छ ।’
महासंघको नेतृत्वमा सफल र सक्षम व्यवसायी पुगेमा महासंघको गौरबपूर्ण इतिहास र ओज कायमै रहने बताउँदै उनले भने– महासंघको नेतृत्वमा पुग्ने मान्छे एक सशक्त व्यावसायिक नेटवर्कसहितको एउटा सफल व्यवसायी हुनुपर्ने र यस्तो व्यवसायी देशका समग्र व्यवसायीका समस्यासँग अवगत रहेको हुनुपर्नेमा उनको जोड थियो ।
महामारीको यो बेलामा अहिले ज्यान जोगाउँ र भोलि व्यवसायलाई पनि माथि उठाउन सबैले मिलेर बल दिनुपर्ने जिम्मेवारीमा अबको महासंघको नेतृत्वले काम गर्नुपर्ने ढकालले बताए । नेतृत्व भनेको संकटको समयको सारथी हो र यस्तै दुःखको बेला नै नेतृत्वको पहिचान हुने भन्दै आफूले महासंघको नेतृत्वमा पुगेपछि यस्तै सबैले सम्झिन सक्ने र आडभरोसाको केन्द्र बन्न सक्ने गरी काम गर्ने पनि बताए ।
प्रकृतिले थपिदिएको यो चुनौतीसँग जुधेर देशको समग्र निजी क्षेत्रको मनोबल उँचो पार्ने काममा दरिलो आत्मविश्वासका साथ आजैदेखि लाग्न पनि उहाँले आफ्नो टिमका सबै साथीहरुलाई आग्रह गरे । आफ्नो समूह अबका सबै चुनौतीको सामना गर्न सक्षम रहेको बताउँदै उनले आफ्नो समूहमा साना तथा मझौला व्यवसायीदेखि ठूलो व्यावसायिक घरनासम्मको उपस्थिति रहेकोले महासंघको आगामी कार्यकाल थप प्रभावकारी, नेतृत्वदायी र रचनात्मक रहने बताए ।
उनले सो अन्तक्रियामा भने ‘हाम्रो यो समूह सबै मुलुकको व्यापार व्यवसायको सबै किसिमका अनुभवले भरिएको छ, विश्वासले भरिएको छ । यसमा जिल्ला नगरका साना तथा मझौला व्यवसायदेखि केन्द्रका ठूलो व्यावसायिक घरानासम्मको उपस्थिति छ । त्यति मात्रै नभएर हाम्रो यो समूह गाउँ, जिल्ला÷नगर देखि नीतिगत तहसम्म पहुँच पु¥याउन सक्छ ।’
ढकालले कोरोनाका कारण सिर्जना भएका आर्थिक चुनौतीको सामना गर्ने व्यक्तिगत पहल मात्रै काफी नहुने भन्दै त्यसका लागि महासंघको नेतृत्वमा सही र सक्षम व्यक्तिहरु चयन गर्ने उपयुक्त अवसर आएको बताए । देशमा औद्योगिक वातावरण निर्माण गर्न, वैदेशिक लगानी भित्र्र्याउन, नयाँ प्रविधि भित्र्याउन, निजी क्षेत्रको सिर्जनात्मक भूमिका बढाएर व्यावसायिक क्षेत्रमा देखापरेका समस्या समाधान गर्न र व्यावसायीका हकहित तथा अधिकारका लागि सरकारसँग लविङ गर्न सक्ने नेतृत्व चाहिएको बताउँदै आफ्नो समूहले महासंघलाई ठूला उद्यमीहरुको मात्रै नभई साना र मझौला उद्योगी व्यापारीको पनि साझा चौतारीका रुपमा स्थापित गर्ने र सबैका समस्याको सुनुवाई हुने वातावरण बनाउने बताए ।
सो अन्तक्र्रियात्मक भेलामा ढकाल समूहबाट उम्मेदवारहरु उमेशलाल श्रेष्ठ, गुणनिधि तिवारी, रामचन्द्र संघाईलगायतको उपस्थिति रहेको थियो ।