काठमाडौं, १९ कात्तिक ।
भारतका स्थल सेनाध्यक्ष मनोजमुकुन्द नरभणे तीनदिने औपचारिक भ्रमणमा बुधबार काठमाडौं आउँदै छन् । सीमा विवादका बेला विवादास्पद अभिव्यक्ति दिएका उनको भ्रमणमा विरोध प्रदर्शन हुन सक्ने भएकाले उपत्यकामा उच्च सुरक्षा सतर्कता अपनाइएको छ ।
प्रधानसेनापति पूर्णचन्द्र थापाको निमन्त्रणामा चार सदस्यीय प्रतिनिधिमण्डलसहित नरभणे भारतीय वायुसेनाको विशेष विमानबाट काठमाडौं आउन लागेका हुन् । उनलाई नेपाली सेनाका बलाधिकृत रथी प्रभुराम शर्मासहितका सैन्य अधिकारीले अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गर्नेछन् ।
नरभणेलाई बिहीबार राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाली सेनाको मानार्थ महारथीबाट विभूषित गर्ने कार्यक्रम छ । त्यही दिन उनले राष्ट्रपति भण्डारीसँग र स्वदेश फर्किनुअघि शुक्रबार प्रधानमन्त्री केपी ओलीसँग शिष्टाचार भेट गर्ने कार्यक्रम छ ।
नरभणेले बिहीबार प्रधानसेनापति पूर्णचन्द्र थापासँग जंगी अड्डामा द्विपक्षीय औपचारिक वार्ता गर्ने कार्यक्रम छ । भारतीय सेनाध्यक्षकी पत्नी एवं त्यहाँको सैनिक श्रीमती कल्याण संघकी अध्यक्ष विना नरभणेले प्रधानसेनापति थापापत्नी एवं सैनिक श्रीमती संघका अध्यक्ष दीपा थापासँग बेग्लै भेटवार्ता गर्ने कार्यक्रम छ । भारतीय स्थल सेनाध्यक्ष नरभणेले शुक्रबार शिवपुरीस्थित नेपाली सेनाको कमान्ड एन्ड स्टाफ कलेजमा सैनिक अधिकारीलाई सम्बोधन गर्नेछन् ।