काठमाडौं, २३ कात्तिक ।
ललितपुर महानगरपालिकाले पार्किङका नाममा अत्याधिक शुल्क लिन थालेको स्थानीयले गुनासो गरेका छन् । महानगरले सडक छेउमा लगाएको पार्किङको ठेक्कामा अत्याधिक शुल्क लिने गरेको छ ।
पार्किङमा मोटरसाइकललाई न्यूनतम २० रुपैयाँ लिने गरेको छ । यसका लागि डिस्कभर सिटी प्रालिलाई ठेक्का दिइएको छ । पार्किङ शुल्कबारे सार्वजनिक रुपमा जानकारी समेत दिइएको छैन । कहिल्यै पार्किङ शुल्क नलाग्ने पाटन अस्पतालको छेउमा समेत हालै शुल्क लिन थालिएको छ ।
‘पार्किङ शुल्क बारे कुनै बोर्ड समेत छैन,’ स्थानीय दिवाकर न्यौपाने भन्छन्,‘महामारीको बेलामा यो त महानगरको लुट नै भयो ।’ सार्वजनिक सडकमा पार्किङ शुल्क निजी पार्किङमा भन्दा धेरै महंगो लिएको भन्दै सर्वसाधरणले महानगरपालिकाको कदमको विरोध गरेका छन् ।