काठमाडौं, २३ कात्तिक ।
प्रधानमन्त्री तथा नेकपका अध्यक्ष केपी शर्मा ओलीले कार्यकारी अध्यक्षसहित सचिवालयका पाँच नेताले बैठक बोलाउन लिखित माग गरेअनुसार विधानबमोजिम प्रक्रिया अगाडि बढाउन महासचिव विष्णु पौडेललाई निर्देशन दिएका छन् ।
आइतबार बालुवाटारमा बोलाएर प्रधानमन्त्री ओलीले लिखित अनुरोधपत्रलाई विधानबमोजिम प्रक्रियामा लैजान निर्देशन दिएका हुन् । ‘प्रधानमन्त्रीले लिखित अनुरोधपत्रबारे महासचिवलाई बालुवाटारमा बोलाएर केही निर्देशन दिइसक्नुभएको छ । बैठक गरौँ, अघि बढौँ, तर विधानबमोजिम हुनुपर्छ भन्नुभएको छ,’ प्रधानमन्त्रीलाई उद्धृत गर्दै उनीनिकट एक नेताले भने । आफ्नो सहमतिविना बहुमतको औपचारिक बैठक बसे त्यही नै पार्टी फुटको बिन्दु र घोषणा हुने ओलीले चेतावनी दिँदै आएका छन् ।