Logo
Logo

हतास मनस्थितिमा प्रधानमन्त्री ओली


- दृष्टि न्युज/संवाददाता

1.8k
Shares

काठमाडौं, २५ कात्तिक । प्रधानमन्त्री केपी शर्मा ओलीले देशलाई अस्थिरतातिर धकेल्ने प्रवृत्तिसामु आफूले पदबाट राजीनामा नदिने बताउनुभएको छ । उहाँले मनमोहन सेन्टर एनेक्सको बुधबार उद्घाटन गर्नुहुँदै आफ्नो रहरले नभई जनताको आवश्यकता र समर्थनले प्रधानमन्त्री भएको बताउनुभयो ।

दुईतिहाइको शक्तिशाली प्रधानमन्त्रीले पार्टी र सरकारमा सन्तुलन मिलाउन नसक्दा उनी असफल बन्न पुगेका छन् । उनलाई अरु असफल बनाउने र उनको पदमा आफू पुग्न उनका विरोधी होइनन्, आफ्नै गुटका हर्ताकर्ताहरु हतारिएका छन् । ओली र प्रचण्डबीच फाटो ल्याउने काममा पनि ती हर्ताकर्ताहरु सफल भएका छन् । ओली र प्रचण्ड मिल्दा चुँसम्म बोल्न नसक्ने नेताहरु यी दुईबीच फाटो ल्याएर कागजको बाघ बन्न खोजेका छन् ।

उहाँले भन्नुभयो, ‘एकथरिको अस्थिरताको खेती गरिरहने, देशलाई अस्थिरतातर्फ धकेल्न खोज्ने आदत नै छ । यसको लत नै बसेको छ । त्यस्ता लत भएकालाई के भनौं ?’ उहाँले भन्नुभयो, ‘तपाईँहरु विचार गर्नुस्, के अहिले मैले राजीनामा दिन हुन्छ ? मैले राजीनामा दिनु भनेको देशलाई बर्बादीतिर जान दिनु हो । त्यसकारण म राजीनामा दिनेछैन ।’ उहाँले आफू जालझेल र तिकडमले नभई व्यापक जनताको समर्थनबाट प्रधानमन्त्री भएको चर्चा गर्नुहुँदै थप्नुभयो, ‘फेरि केही खोइ त राजीनामा ? भनेर मागिरहेका छन् । बेकारको कुरा हो । भन्ने सुन्छु है, तयारी गर्दैछन् । के हो तयारी ? अन्तिममा के भएछ, केही पनि हुनेछैन ।’

उहाँले स्पष्ट पार्नुभयो, ‘त्यसकारण तपाईंहरु ढुक्क भएर काममा लाग्नुस् । यो सरकार यस्तो हुन्छ कि, उस्तो हुन्छ कि, फेरिन्छ कि, बदलिन्छ कि । धेरैले धेरैपटक धेरै प्रकारका कोसिस गरे । भित्र–बाहिर अनेक थरिका कोसिस आए ।’ उहाँले भन्नुभयो, ‘देशमा स्थिरताका लागि हामी काम गर्छौँ, स्थिरताका लागि लड्छौँ । स्थिरता–विकासका लागि । स्थिरता– परिवर्तनका लागि । जनताको जीवनमा परिवर्तन ल्याउनका लागि ।’

प्रधानमन्त्री ओलीले कात्तिक १९ गते यस्ता अभिव्यक्ति दिएर आफूलाई कमजोर मनस्थितिमा पु¥याउनुभएको छ । ०७६ मंसिर ४ गते कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पाँचै वर्ष प्रधानमन्त्री चलाउन ओलीसँग सहमति गरेको वर्ष दिन बित्नै लाग्दा ओलीलाई मनको बाधले किन खान खोज्यो भन्ने कुरा नेकपाका नेताहरुले बुझ्न सकेका छैनन् । ओलीको यस अभिव्यक्तिबाट उहाँ नजिकिँदै गरेको एकता महाधिवेशनबाट भाग्न खोजेको संकेत हो । गत मंसिरमा प्रचण्डसँग दोस्रोपटक सहमति गर्दा आफूले पाँच वर्ष सरकारको नेतृत्व गर्ने र पार्टीको बाँकी काम कार्यकारी अध्यक्षका रुपमा प्रचण्डले टुंग्याउने भनिएको थियो । तर, एक वर्ष बित्दा नबित्दै न त सरकारले गति लिन सक्यो, न त पार्टीको बाँकी काम नै टुंगो लाग्यो । यस्तो अवस्थामा आगामी चैतको अन्तिम साताभित्र गरिने भनिएको एकता महाधिवेशन पनि सर्ने निश्चित छ ।

कोरोना संक्रमणले जनता भोकभोकै मरिरहेको अवस्थामा सरकारलाई कसरी चुस्त, दुरुस्त बनाएर जनताको सेवामा लाग्ने भन्ने सोच प्रधानमन्त्री ओलीमा देखिन्न । हुँदाहुँदा पिसीआरसमेत शुल्क लिएर गर्ने निर्णय सरकारले ग¥यो । यो जनघाती र गैरजिम्मेवार निर्णय थियो । पछि सर्वोच्च अदालतले सरकारको यस निर्णयमाथि डण्डा चलाउने अवस्था आयो । पार्टीको काम त्यसै अलपत्र छ । सचिवालय, स्थायी कमिटी र केन्द्रीय कमिटीलाई अध्यक्ष तथा प्रधानमन्त्री ओलीले पंगु बनाएर वरिष्ठ नेता माधव नेपाललाई फकाउने काममा लाग्नु भएको छ । अस्ति आइतबार मात्र नेपाललाई बालुवाटार बोलाएर एकता महाधिवेशनमा अध्यक्ष बनाउने आश्वासन दिनुभयो । तर, ओलीको कुरा नेपालले पत्याएनन् । पार्टी एकता जोगाउने हो भने आफ्नो व्यक्तिवादी सोच र हठ त्याग्न ओलीलाई आग्रह गर्नुभयो । वरिष्ठ नेता नेपालल सधैँ विधि, पद्धति र अनुशासनका कुरा गर्दै आउनु भएको छ । कुनै पद ओलीले देलान् र खाम्ला भनेर वरिष्ठ नेता नेपाल उहाँको विरोधमा उत्रनुभएको होइन । त्यसैले अस्ति आइतबारको भेटमा पनि नेता नेपालले ठाडै अहिलेको सबै समस्याको जड ओली नै भएको निष्कर्ष निकाल्दै ओलीलाई सच्चिन आग्रह गर्नुभएको बालुवाटार स्रोतले बताएको छ ।

एकता महाधिवेशन ढिलोचाँडो जहिले भए पनि प्रचण्ड–माधव नेपालबीच एकता कायम भएसम्म ओली गुटले पराजय भोग्ने देखेरै ओली अत्तालिन पुगेको हो । ओली गुटबाट अध्यक्षका लागि ईश्वर पोखरेलले भित्री तयारी सुरु गरेका छन् । त्यसैले गत बुधबार एक नम्बर प्रदेशका कार्यकर्ताहरुसँग पोखरेलले जुम बैठक गरेर जबजको पक्षमा आवाज बुलन्द पार्न निर्देशन दिए । पार्टी एकता गर्दा प्रचण्ड र ओलीबीच नेकपाको राजनीतिक मार्गनिर्देशक सिद्धान्त एकता महाधिवेशनबाट टुंग्याउने सहमति भएको थियो । तर, अहिलेदेखि नै प्रधानमन्त्री ओली र उनको गुट मदन भण्डारी फाउण्डेशनमार्फत देशैभरि जबजको खेतीमा लाग्न कार्यकर्तालाई उचाल्नुको पछाडिको नियत भनेको नेकपालाई अगाडि बढाउने होइन, एमालेतिरै फर्काउने हो भन्ने कार्यकर्ताको बुझाइ छ । त्यसो त नवौं महाधिवेशनमा ईश्वर पोखरेललाई अध्यक्ष सुम्पने सहमति ओलीले गरेका थिए । त्यही कुरालाई समाएर पोखरेलले ओलीसँग ‘ब्ल्याकमेलिङ’ गरेका कारण ओली धरापमा परेका हुन् । किनभने, नवौं महाधिवेशनमा पोखरेललाई अध्यक्ष दिने भनिए पनि पार्टी एकता गर्दा ओलीले एकता महाधिवेशनमा प्रचण्डलाई सर्वसम्मत अध्यक्ष बनाउने सहमति गरेका थिए । यी दुई नेतासँग गरेका सहमति कार्यान्वयन गर्नुपर्ला भनेरै ओलीले उत्तेजित अभिव्यक्ति दिँदै आएको बुझाई नेकपाका शीर्ष नेताहरुको छ । यसरी नेता, कार्यकर्तालाई ढाँट्दै, छल्दै ओलीले कति दिनसम्म राज गर्ने हुन् त्यसको केही टुंगो छैन । पछिल्लो समय ओलीले कार्यकारी अध्यक्ष प्रचण्डलाई चिढ्याउनुको कारण पनि एकता महाधिवेशन टार्दै जाने मनस्थिति हो भन्ने कुरा शीर्ष नेताहरुले बुझेका छन् ।

आफ्नो स्वार्थकालागि जे कुरामा पनि सहमति गर्ने, स्वार्थपूर्ति भइसकेपछि सबैलाई धोका दिने गरेकैले प्रचण्ड, माधव नेपाल, झलनाथ खनाल र वामदेव गौतम ओलीको विपक्षमा उभिन बाध्य भएका हुन् । त्यसमाथि नवौं महाधिवेशनबाट निर्वाचित महासचिव पोखरेललाई पार्टी एकता गर्दा भित्तामा पु¥याउने काम गर्नुले पनि उपप्रधानमन्त्री पोखरेल नेकपाको एकता भाँडेर ओलीलाई ‘भुइँ न भाँडो’ बनाउने षड्यन्त्रमा लागेका छन् । पोखरेल सुरुदेखि नै एकताविरोधी कित्तामा उभिएका थिए । त्यही भएर पार्टी एकता गर्दा उनको महासचिव पदसमेत खोसेर उपमहासचिव विष्णु पौडेललाई महासचिव बनाइएको हो । उपप्रधानमन्त्री तथा अर्थमन्त्रीको सपना देखेका पोखरेललाई ओलीले रक्षामन्त्रीमा थन्क्याइदिएका थिए । त्यही विगतको प्रतिशोध साँध्न ईश्वर पोखरेल बालुवाटारमै बसेर ‘फणा’ उठाउन थालेका छन् । एकता प्रक्रिया भाँडिनु भनेको ओलीलाई सिध्याउने खेल हो भन्ने कुरा ओलीले समयमै बुझ्न सकेनन् भने सबैभन्दा पहिला ओली नै सिद्धिने छन् ।

यदि नवौं महाधिवेशनमा ईश्वर पोखरेल, झलनाथ खनाल र वामदेव गौतमले ओलीलाई साथ नदिएको भए ओलीको राजनीतिक यात्रा भृकुटीमण्डपमै टुंगिन्थ्यो । ओली निकट स्रोतका अनुसार नवौं महाधिवेशनमा आफूले अध्यक्ष पद जित्नका लागि उनले ईश्वर पोखरेललाई अध्यक्ष, झलनाथ खनाललाई राष्ट्रपति र वामदेव गौतमलाई संसदीय दलको नेता बनाउने आश्वासन दिएका थिए । त्यही आश्वासन पूरा नगर्दा अहिले ओली आफैँ बाघ आयो, बाघ आयो… भन्ने कथाको पात्रजस्तै बनेका छन् । दुईतिहाइको शक्तिशाली प्रधानमन्त्रीले पार्टी र सरकारमा सन्तुलन मिलाउन नसक्दा उनी असफल बन्न पुगेका छन् । उनलाई अरु असफल बनाउने र उनको पदमा आफू पुग्न उनका विरोधी होइनन्, आफ्नै गुटका हर्ताकर्ताहरु हतारिएका छन् । ओली र प्रचण्डबीच फाटो ल्याउने काममा पनि ती हर्ताकर्ताहरु सफल भएका छन् । ओली र प्रचण्ड मिल्दा चुँसम्म बोल्न नसक्ने नेताहरु यी दुईबीच फाटो ल्याएर कागजको बाघ बन्न खोजेका छन् ।

यस्तो स्थितिबीच नेकपाका वरिष्ठ नेता माधवकुमार नेपालको भूमिका निर्णायक देखिएको छ । जननेता मदन भण्डारीको हत्यादेखि पार्टी विभाजनसम्म नेपालले खेलेको भूमिकाले नै नेकपा यो ठाउँसम्म आइपुगेको हो । यो यथार्थलाई बिर्सिएर पार्टी एकता गर्दा नेपालको भूमिकालाई अवमूल्यन गर्न खोज्दा पनि ओली थप संकटमा परेका हुन् । ओलीले पार्टी एकता गरेपछि माधव नेपाल, झलनाथ खनाल, वामदेव गौतम र ईश्वर पोखरेललाई समाप्त पार्ने खेलमा लागेका थिए । तर, अहिले आएर आफैँ समाप्त हुने बाटो उनले रोजेका छन् । त्यो बाटोमा उनलाई प्रचण्ड, माधव नेपालले होइन, आफ्नै गुटले डोहो¥याइरहेका छन् । त्यही मनोविज्ञानले उनले राजीनामा दिन्न भन्ने शब्द पटक–पटक उच्चारण गरेका हुन् । ओलीसँग चार दशकभन्दा बढी सहयात्रा गरेका वरिष्ठ नेता नेपालले ओलीको षड्यन्त्र राम्रैसँग बुझेका छन् । त्यसैले प्रधानमन्त्री, अध्यक्ष जे बनाउँछु भने पनि नेपालले ओलीको कुरा किन पत्याउँदैनन् भने ओली नेकपामा अल्पमतमा छन् । संसदीय दलमा ४० प्रतिशत पनि पु¥याउन नसकेर अध्यादेश थन्क्याएका छन् । जुन दिन ४० प्रतिशत मत संसदीय दलमा पु¥याउँछन्, त्यो दिन ओलीले पार्टी फोड्छन् भन्ने सूचना ओली निकटकैले नेपाललाई दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्