Logo
Logo

बिहारमा पुनः मुख्यमन्त्री बन्दै नितिशकुमार


- दृष्टि न्युज/संवाददाता

945
Shares

पटना, २६ कात्तिक (एजेन्सी) । भारतको बिहारमा भएको निर्वाचनमा सत्तारुढ दलको गठबन्धनले बहुमत प्राप्त गरेको छ । प्रधानमन्त्री नरेन्द्र मोदीको पार्टी भारतीय जनता पार्टी (भाजपा) र मुख्यमन्त्री नितिश कुमारको पार्टी जनता दल युनाइटेड (जेडियू) सहितको राष्ट्रिय लोकतन्त्रवादी गठबन्धन (एनडीए)ले नै बहुमत प्राप्त गरेको हो ।
यस गठबन्धनले कुल १२५ सिटमा जित हासिल गरेको छ भने विपक्षी महागठबन्धनले कूल ११० सिट मात्रै हासिल गरेको छ । पूर्वमुख्यमन्त्री लालुप्रसाद यादवका छोरा तेजस्वी यादवको नेतृत्वमा रहेको राष्ट्रिय जनता दल (आरजेडी)ले ७५ सिटसहित सबभन्दा ठूलो पार्टी बनेको छ ।
दोस्रोमा ७४ सिट सहित केन्द्रीय सत्तामा रहेको भाजपा छ भने मुख्यमन्त्री नितिश कुमारको जेडियुले केबल ४३ सिट जितेको छ ।
निर्वाचनको नयाँ नतिजाअनुसार अहिलेका मुख्यमन्त्री नितिश कुमार नै फेरि मुख्यमन्त्री बन्ने देखिएको छ । तर, भाजपाको तुलनामा आफ्नो पार्टीसँग निकै कम सिट रहेको स्थितिका कारण नितिश कुमारलाई चुनौती र खतरा भने निकै धेरै रहेको छ । नितिश कुमारले आफू बिहारमा अन्तिम पटकका लागि मुख्यमन्त्री हुने यसअघि नै बताइसकेका छन् ।
तीन कार्यकाल मुख्यमन्त्री भइसकेका नितिश कुमार अब चौथो पटक मुख्यमन्त्री हुनेछन् । नतिजा सार्वजनिक भएसँगै एनडीएका समर्थकहरुले विजय जुलुश निकालिसकेका छन् । उनीहरुले वर्तमान केन्द्रीय तथा राज्य सरकारको समर्थनको रुपमा अहिलेको नतिजालाई व्याख्या गरेका छन् । कुल २४३ सिट रहेको बिहार राज्यको विधान सभाका लागि कोरोनाभाइरसको महामारीका बीचमा तीन चरणमा निर्वाचन भएको हो ।
निर्वाचनमा मतदानका लागि एक लाख छ हजार ५१५ मतदान केन्द्र तोकिएको थियो भने झण्डै ७५ प्रतिशत मतदाताको सहभागीता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्