काठमाडौं, २७ कात्तिक ।
कार्यकारी अध्यक्ष प्रचण्ड तथा बरिष्ठ नेता माधव नेपाल लगायताको दबाबपछि प्रधानमन्त्री केपी शर्मा ओलीले सचिवालय बैठक बोलाएका छन् । शुक्रबार दिउँसो ४ बजेका लागि सचिवालय बैठक बोलाइएको छ ।
सचिवालय बैठक बोलाउन माग राखी पाँच सचिवालय सदस्यले लिखित निवेदन दिएका थिए । सोही आधारमा बैठक बोलाइएको छ । बैठक बोलाउन आजसम्मको अल्टिमेटम दिइएको थियो ।
सचिवालयमा प्रधानमन्त्री ओली अल्पमतमा छन् । ईश्वर पोखरेल र विष्णु पौडेल मात्र उनको पक्षमा देखिएका छन् । गृहमन्त्री रामबहादुर थापा बादल तटस्थ छन् भने प्रचण्ड, माधव नेपाल, झलनाथ खनाल, वामदेव गौतम र नारायणकाजी श्रेष्ठ त मोर्चा बनाएरै ओलीविरुद्धको संघर्षमा लागेका छन् ।