काठमाडौं, ३ मंसिर ।
सचिवालयमा अल्पमतमा परेका प्रधानमन्त्री केपी शर्मा अोलीले नेताहरुलाई एक्ला एक्ले भेटेर विभिन्न अफर गरिरहेका छन् । उनले उपाध्यक्ष वामदेव गौतमलाई उपप्रधानमन्त्री तथा रोजेको मन्त्रालय लिन अफर गरेका छन् । यसअघिको विवाद उत्कर्षमा पुग्दा गौतमलाई प्रधानमन्त्री नै बनाउने उनले प्रस्ताव गरेका थिए ।
आइतबारको भेटमा प्रधानमन्त्रीले उपप्रधानमन्त्रीसहित गृह वा इच्छा लागेको कुनै पनि मन्त्रालय लिन र आफूलाई सहयोग गर्र्न प्रस्ताव गरेका थिए । गौतमनिकट स्रोतका अनुसार ओलीको प्रस्ताव थियो, ‘पार्टीको नेतृत्व पनि तपाईंले गर्ने हो, अध्यक्षको जिम्मेवारी अब तपाईंले पूरा गर्ने हो । उपाध्यक्ष पनि र संगठन विभाग प्रमुख भएकाले जिम्मेवारी लिनु स्वाभाविक पनि हुन्छ । यसबाहेक उपप्रधानमन्त्री र तपाईंको चाहनाअनुसार मन्त्रालयको जिम्मा लिनुस् । सरकारलाई सहयोग गर्नुस् ।’
प्रधानमन्त्री ओलीको प्रस्तावमा गौतमको जवाफ थियो, ‘विगतमा धेरैपटक धेरै बनाउनुभयो । अब कुन व्यक्तिले कसलाई के बनाउने भन्ने होइन । पार्टीले निर्णय गर्ने परिपाटी बनाउनुपर्छ । बैठकमा छलफल गरौँ । संस्थागत निर्णय गरौँ । त्यसपछि आ–आफ्ना भूमिका पूरा गरौँला ।’