काठमाडौं, २ मंसिर ।
नेकपाका कार्यकारी अध्यक्ष प्रचण्डले केपी ओली निकट नेताहरुसँग छलफल गरेका छन् । शुक्रबार उनले पार्टी कार्यालय धुम्बाराहीमा सुवास नेम्वाङ र विष्णु पौडेलसँग छलफल गरेका छन् ।
प्रचण्डका प्रेस संयोजक विष्णु सापकोटाका अनुसार दुवै नेतासँग उनले छुट्टा छुट्टै छलफल गरेका हुन् । दुई अध्यक्षबीचको विवाद मिलाउन उनीहरु लागि परेका छन् । प्रचण्डसँग छलफल गरेर निस्कने क्रममा पाैडेलले परिस्थिति गम्भीर रहेको बताएका हुन्।
महासचिव पौडेलले पत्रकारहरुमाँझ भने, ‘परिस्थिति गम्भीर छ, धेरै गम्भीर छ।’ महासचिव पौडेल र अध्यक्ष प्रचण्डबीच धुम्बाराहीमा करिब २५ मिनेट छलफल भएको हो।
धुम्बाराहीमा उपप्रधानमन्त्री ईश्वर पोखरेल पनि छन्। उनले पार्टीका अन्य नेताहरुसँग छुट्टै छलफल गरिरहेका छन्।
बुधबार बसेको नेकपाको सचिवालय बैठक १३ गतेसम्म स्थगित गरिएको छ । यो बीचमा विवाद मिलाउने ओली निकट नेताहरु लागेका छन् ।