Logo
Logo

प्रधानमन्त्री ओलीद्वारा देउवासँग सत्ता साझेदारीको प्रस्ताव


- दृष्टि न्युज/संवाददाता

819
Shares

काठमाडौं, ७ मंसिर ।
प्रधानमन्त्री केपी ओलीले प्रमुख प्रतिपक्षी दल कांग्रेसका सभापति शेरबहादुर देउवासँग भेटघाट गरी सत्ता साझेदारीबारे छलफल थालेका छन् । पार्टीभित्रबाट आफुलाई हटाउने चाल पाएपछि उनले गोप्य छलफल थालेका हुन् ।


संवैधानिक नियुक्तिका विषयमा छलफल गर्न भन्दै प्रधानमन्त्री ओलीले बोलाएपछि शनिबार दिउँसो देउवा प्रधानमन्त्रीनिवास बालुवाटार पुगेका थिए ।
करिब डेढ घन्टासम्म संवैधानिक निकायमा नियुक्ति र समसामयिक राजनीतिक घटनाक्रमका विषयमा छलफल भए पनि नेताहरूले भेटलाई गोप्य राखेका छन् । आफूनिकट केन्द्रीय सदस्य रमेश लेखक लगायतलाई लिएर बालुवाटार पुगेका देउवासँग प्रधानमन्त्री ओलीले बेग्लै छलफलसमेत गरेका थिए ।
भेटमा ओलीका तर्फबाट उपप्रधानमन्त्री ईश्वर पोखरेल, नेकपा संसदीय दलका उपनेता सुवास नेम्वाङ, परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली, स्वास्थ्यमन्त्री भानुभक्त ढकाललगायत सहभागी थिए ।

स्रोतका अनुसार भेटका क्रममा प्रधानमन्त्री ओलीले देउवासँग सत्ता साझेदारीको प्रस्ताव गरेका छन् । कांग्रेस नेता रमेश लेखकले प्रधानमन्त्री ओली र सभापति देउवाबीच संवाद भएको पुष्टि गरे । तर, भेटघाट सामान्य भएको उनको भनाई छ ।
संसदीय दलमा अविश्वासको प्रस्तावबाट आफुलाई हटाउने निर्णय भएमा पार्टी फुटाएर कांग्रेससँग ओलीले सहकार्य गर्न लागेको आशंका गरिएको छ । यसका लागि राजनीतिक दलसम्बन्धि अध्यादेश समेत ल्याउने चर्चा छ । सोही कारण संसद बैठकमा समेत ढिलाई भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्