लस एञ्जलस, १३ मंसिर (एपी) । अमेरिकाको लस एन्जलसमा घरमै बस्नुपर्नेलगायतका प्रतिवन्धात्मक घोषणा गरिएको छ । कोरोनाभाइरसको सङ्क्रमण नियन्त्रणका लागि स्थानीय सरकारले शुक्रबार प्रतिवन्धात्मक व्यवस्थाहरुको घोषणा गरेको हो ।
देशकै सवैभन्दा धेरै जनसङ्ख्या रहेको ठाउँको रुपमा चिनिएको लस एन्जेलसमा आम मानिसलाई भिडभाड गर्न रोक लगाइएको छ । भिडभाड हुने व्यापार व्यवसाय पूर्ण रुपमा प्रतिवन्ध लगाइएको छ भने अन्य व्यापार व्यवसायका लागि उच्च सतर्कता अपनाउनुपर्ने व्यवस्था गरिएको छ ।
तीन हप्ताका लागि घरमै सुरक्षित भन्ने नाराका साथ आह्वान गरिएको निर्देशन आगामी सोमबारदेखि लागु हुनेछ ।झण्डै एक करोड जनसंख्या रहेको यस क्षेत्रमा थप २४ जनाको कोरोनाका कारण मृत्यु भएको छ भने नयाँ चार हजार ५४४ जनामा कोरोनाभाइरसको सङ्क्रमण पुष्टि भएको छ ।
स्थानीय प्रशासनले जारी गरेको निर्देशनमा सम्भव भएसम्म घरमै बस्न र घरभन्दा बाहिर निस्कनै परेमा मुख ढाक्ने चिज लगाउन आग्रह गरिएको छ । सार्वजनिक वा व्यक्तिगत रुपमा पनि कुनै घरपरिवारले भिडभाड तथा जमघट गराउन नपाइने कुरा पनि निर्देशनमा उल्लेख गरिएको छ ।
चर्चमा काम गर्ने र विरोध प्रदर्शनमा उत्रिनेहरुलाई भने यो निर्देशन अनिवार्य नगरिएको अधिकारीहरुले जनाएका छन् । संविधानमा उल्लेखित अधिकारको रक्षाका लागि यस्तो व्यवस्था गरिएको उनीहरुको भनाई छ ।