काठमाडौं, १५ मंसिर
विभिन्न किमिसका अनियमिततामा संलग्न भएको आरोपमा प्रहरी अधिकारीविरुद्धका उजुरी बढ्दै गएका छन् । पछिल्लो चार महिनामा मात्र प्रहरीविरुद्ध तीन सय १२ वटा उजुरी प्रहरी उजुरी छानबिन इकाईमा परेका छन् । जसमा ४६ वटा उजुरीमा कारबाही भइसकेको छ ।
गत आर्थिक वर्षमा चार सय ७४ उजुरी परेकोमा एक सय २६ जनामाथि कारबाही भएको थियो । त्यस्तै आर्थिक वर्ष २०७५÷७६ मा ५ सय ६६ वटा उजुरी परेकोमा ९२ जना उपर कारबाही भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।
प्रहरी महानिरीक्षकको सचिवालय अन्र्तगत एसएसपीको नेतृत्वमा उजुरी छानबिन शाखा रहेको छ । जसले उजुरीको गम्भीरताका आधारमा स्थलगत रुपमा समेत छानबिन गर्दछ ।
मातहतका प्रहरीसँग पैसा उठाउने दुई एसपीमाथि कारबाही सिफारिस
ट्राफिक कार्यालयमा अनियमिता गरेको आरोपमा प्रहरी प्रधान कार्यालयले दुई प्रहरी उपरीक्षक(एसपी)माथि कारबाही अघि बढाएको छ । एसपीद्वय विमल बस्नेत र रामेश्वर यादबमाथि छानबिन सकाएर कारबाही अघि बढाइएको हो ।
प्रदेश ट्राफिक प्रहरी कार्यालय कर्णालीमा हुँदा उनीहरुले अनियमितता गरेका छन् । आफु मातहतकै प्रहरी कार्यालयहरुबाट मासिक रुपमा पैसा उठाएको पुष्टि भएपछि कारबाही गर्न लागिएको उच्च प्रहरी स्रोत बताउँछ ।
एसपी यादब चार महिनाअघिसम्म प्रदेश ट्राफिक कार्यालय सुर्खेतमा थिए । उनी अघि एसपी बस्नेत त्यहाँ कार्यालय प्रमुख थिए । प्रदेशका सबै जसो ट्राफिक कार्यालयबाट उनीहरुले पैसा उठाउने गरेको प्रहरी महानिरीक्षकको सचिवालय अन्र्तगतको उजुरी छानबिन शाखाले पुष्टि गरेको हो । स्रोतका अनुसार मासिक रुपमा उनीहरुलाई पैसा बुझाउने प्रहरीहरुले नै त्यसको पुष्टि गरिदिएका छन् । दुवै एसपीसँग बयान लिएर उजुरी छानबिन शाखाले कारबाहीका लागि कानून शाखामा छानिबन प्रतिवेदन बुझाएको छ । ‘तत्काल निलम्बन गर्नुपर्ने अवस्था देखिन्छ,’ छानबिनमा आबद्ध एक प्रहरी अधिकारीले भने,‘प्रहरीलाई धक्काएर समेत पैसा बुझाउन लगाउने गरेको देखियो ।’ सडकका ट्राफिक पोष्टहरुमा समेत मासिक पैसा बुझाउन सर्तमा उनीहरुले ट्राफिक खटाउने गरेको छानबिनमा देखिएको छ ।
कारबाहीको सिफारिस भएका दुवै एसपी खराब ‘ट्रयाक रेकर्ड’भएका प्रहरी अधिकारी हुन् । एसपी यादबमाथि पटक पटक विभागीय कारबाही भएको छ ।दुई वर्षअघि सिन्धुलीमा प्रहरी प्रमुख हुँदा पनि घुस उनी घुसकाण्डमा परेका थिए । बिपी राजमार्गमा मापदण्डविपरीका सवारी साधन सञ्चालन गर्न दिने र त्यसबाट दैनिक पैसा असुल्ने गरेको प्रहरी मुख्यालयको छानबिनमा खुलेको थियो । राजमार्गमा पैसा उठाउन झोला नै दिउर प्रहरी खटाउने गरेको पुष्टि भएपनि त्यतीबेला उनलाई सामान्य कारबाही गरेर उन्मुक्ति दिइएको थियो । इन्सपेक्टर हुँदा रुपन्देहीमा लागुऔषध कारोबारीसँग पैसा लिएकोमा निलम्बनमा परेकामा सामान्य कारबाही गरेर जागिरमा फकाईएको थियो । महानगरीय प्रहरी वृत्त सातदोबाटोमा हुँदा पनि घुस लिएको उजुरीमा छानबिन भएपनि प्रमाण नपुगेपछि कारबाहीबाट जोगिएका थिए ।
त्यस्तै, एसपी बस्नेत पनि विगतमा पटक पटक छानबिनमा परेका थिए । यसअघि गोरखामा हुँदा केही महिनामा नै उनलाई हटाइएको थियो । राष्ट्रिय अनुसन्धान विभागबाट प्रहरीमा स्थानान्तरण भएका बस्नेत उनको हरेक पोष्टिङमा विवादमा पर्ने गरेका छन् ।
प्रहरी प्रवक्ता एसएसपी बसन्त बहादुर कुँवरले कर्णाली प्रदेश ट्राफिक कार्यालयमा भएको अनियमितताबारे छानबिन भइरेहकाले विस्तृत विवरण आफुसँग नभएको बताए ।