- रमेश घिमिरे (स्वतन्त्र पत्रकार)
सत्ताधारी पार्टी नेकपामा तीव्र विवाद चर्किरहेकै बेला गएको साता काठमाडौं, कूटनीतिक दृष्टिबाट अत्यन्त व्यस्त रह्यो । नेपालका दुई ठूला छिमेकी चीन र भारतबाट दुई उच्चस्तरीय भ्रमण नेपालमा भयो । भारतीय विदेश सचिव हर्षवर्धन श्रृङ्गला बिहीबार आएर शुक्रबार स्वदेश फर्किए । यस्तै उपप्रधानमन्त्री तहका चिनियाँ रक्षामन्त्री वेइ फेङहे भारतीय विदेश सचिव स्वदेश फर्केको ३६ घण्टा पनि नबित्दै आइतबार काठमाडौंमा केही घण्टा बिताएर अर्को दक्षिण एशियाली मुलुक पाकिस्तानतर्फ लागेका थिए ।
प्रधानमन्त्री ओलीले फेङहेसंगको शिष्टाचार भेटमा आफ्नो पहिलो कार्यकाल सन् २०१६ मा भएको सन्धी सम्झौताहरू र दुई वर्षअघि चिनियाँ राष्ट्रपतिको नेपाल भ्रमणको अवसरमा भएको सम्झौताहरूको क्रियान्वयन गर्ने प्रतिबद्धता व्यक्त गरे । यसका साथ साथै सन् २०१५ मा नेपालको विरोध हुँदाहुँदै नेपाली भूमि लिपुलेक नाकाबाट चीन र भारतले व्यापारको लागि खोल्ने सम्झौता गरेका छन् त्यसबारेमा पनि कुरा भएको बताइएको छ । यसबारे भविष्यमा चीनको कस्तो प्रतिक्रिया आउँछ त्यसबाट पनि फेङहेको भ्रमण कति सफल भयो भन्ने आँकलन गर्न सकिने छ ।
जहाँसम्म नेपाल-भारतबीच को सम्बन्धको कुरा छ– नेपालको कालापानी, लिपुलेख र लिम्पियाधुरासहित गाभेर भारतले गत वर्ष नोभेम्बरमा आफ्नो राजनितिक तथा प्रशासनिक मानचित्र प्रकाशित ग¥यो । र त्यसपछि भारतले नेपालको त्यही भूमि भएर मानसरोवर जाने आधुनिक बाटो निर्माण गरि भारतीय रक्षामन्त्री राजनाथ सिंहले उद्घाटन गरे । यस घटनापछि नेपालले पनि आफ्नो उपरोक्त भूमिसहितको राजनीतिक तथा प्रशासनिक मानचित्र प्रकाशित गरी सर्वदलीय सहमतिले सर्वसम्मत रूपमा प्रतिनिधिसभाबाट पारित ग¥यो । र, नेपालको निशान छापमा समेत सो मानचित्रराखि नेपालको संविधानमा समेत समाविष्ट ग¥यो । अहिले नेपालको सो क्षेत्र नेपाल र भारत दुवै देशको मानचित्रमा छ । र नेपालको सो भूभाग हाल भारतको कब्जामा छ । सो मानचित्र नेपालको संघीय संसदले समेत पास गरिसकेको अवस्था छ भने, भारतको संसदले सो संशोधित मानचित्र पास गरेको छैन । यसपछि नेपाल–भारत सम्बन्ध चिसिन पुगेको हो ।
यसपछिका दिनहरूमा दुवै छिमेकी यो संवादहीनताको गाँठोलाई कसरी फुकाउने भन्नेतर्फ लागेका थिए । किनभने, छिमेकीबीचको चिसोपनाले दुवै छिमेकीलाई फाइदा पुग्दैन । यसबीच भारतको ७४औं स्वतन्त्रता दिवसको अवसरमा प्रधानमन्त्री केपी ओली र उनका समकक्षी नरेन्द्र मोदीबीच फोनवार्ता भयो । त्यसपछि भारतीय बाह्य सुरक्षा हेर्ने गुप्तचर निकाय रिसर्च एण्ड एनालाइसिस विङ रअ का प्रमुख सामन्त कुमार गोयल र भारतीय स्थल सेनाध्यक्ष जनरल मनोज मुकुन्द नरवणेको नेपाल भ्रमण भयो । र अहिले यही श्रृंखलामा विदेशसचिव श्रृङ्गलाको नेपाल भ्रमण भएको छ ।
यहाँनिर एउटा मननयोग्य कुरा के छ भने सत्ताधारी भारतीय जनता पार्टीलाई विचार र कार्यकर्ता दिने राष्ट्रिय स्वयं सेवक संघ (आरएसएस) का प्रमुख मोहन भागवतले गएको दशैंमा दिएको एक सन्देशमा भनेका थिए– ‘नेपाल, भारतको छिमेकीका साथसाथै मित्रदेश पनि हो । र हामी समानप्रकृतिका देशपनि हौं । नेपालसंग हाम्रोसम्बन्ध सुमधुर बनाउँनका लागी हामी तीव्रगतिसंग लाग्नु पर्दछ । यसकार्यमा बाधा उत्पन्न गर्ने मनमुटाव, मतान्तर, विवाद आदिका विषयहरूको छिटो निरूपण गर्नुपर्दछ ।’
यसपछिका दिनहरूमा नै भारतसरकार नेपालसँग सम्बन्ध सामान्यीकरण गर्नेतर्फ लागेको देखिन्छ । किनभने,आरएसस बिजेपीको माऊ संगठन हो र मोदी आरएसएसका प्रचारक समेत रहीसकेका व्यक्ति हुन् । मोदीको चाहना न हुँदाहँदै पनि आरएसएसको चाहनाले योगी आदित्यनाथ उत्तरप्रदेशका मुख्यमन्त्री बनेका हुन् । यसबाट के स्पष्टहुन्छ भने आरएसएसले दिएको निर्देशलाई मोदीले इन्कार गर्न सक्दैनन् । किनभने मोदीलाई प्रधानमन्त्री बनाएको पनि आरएसएसले नै हो ।
नेपालीभाषी श्रृङ्गलाले आफ्नो दुई दिने भ्रमणको प्रारम्भ त्रिभुवन अन्तर्राष्ट्रीय विमानस्थलमा नेपालमा हुने आफ्नो भेटघाटको फेहरिस्त नेपालीमै सुनाएर नेपालीको मन जित्ने कोशिस गरे । उनले नेपालमा रहँदा परराष्ट्र सचिव भरतराज पौडेल संग दुईपक्षीय औपचारिक वार्ता गरे । औपचारिक वार्ताअघि दुई सचिवको बीचमा एकल वार्ता पनि भएको थियो । वार्तापछि संक्षिप्त प्रतिक्रिया दिँदै भारतीय विदेश सचिवले भने, ‘छलफलको राम्रो शुरुवात भएको छ । दुई देशको बीचमा समस्याहरु समाधान गर्ने विषयमा छलफल भएको छ । र वार्ता एकदमै उपलब्धिमूलक भएको छ । वार्ताका एजेण्डाहरु एकदमै बृहद् छन् । आर्थिक सहकार्यदेखि पूर्वाधार निर्माणलगायतका विषयमा एकदमै उपयोगी छलफल भएको छ ।’ परराष्ट्र मन्त्रालयले एक ट्वीटमार्फत दुई देशका बीचमा एकदमै सौहार्दपूर्ण वातावरणमा छलफल भएको उल्लेख गरेको छ ।
यसपछि भारतीय विदेशसचिव श्रृङ्गलाले परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली, प्रधानमन्त्री केपी ओली र राष्ट्रपति विद्यादेवी भण्डारीसंग शिष्टाचार भेट गरे । ज्ञवालीले श्रृङ्गलासँग वार्ता गर्दा अर्थपूर्णरूपमा नेपालको चुच्चे मानचित्रसहितको नेपालको ठूलो निशाना छाप राखी गरी धेरै कुरा नभनी नेपालको स्थिति स्पष्ट पारिदिए । नेपालले लिपुलेक, कालापानी र लिम्पियाधुरालाई समेटेर नयाँ नक्सा जारी गर्नुका साथै त्यसअनुसार निशान छाप परिर्वतन गर्न संविधान संशोधन गरेको छ । ऐतिहासिक दस्तावेज र प्रमाणहरुका आधारमा यो भूमि आफ्नो भएको नेपालको स्पष्ट मत छ । र भारतीय विदेश सचिवसँग भएको औपचारिक वार्ता र शिष्टाचार भेटहरुमा नेपाली पक्षले ऐतिहासिक दस्तावेज र प्रमाणहरुका आधारमा सीमा विवाद छिटो हल गर्नुपर्ने मत राखेको छ । विदेश सचिव श्रृंगलासँग सबै विषयमा खुलस्त कुराकानी भएको परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञावलीले बताए । उनले भने ‘हामीले दुईपक्षीय सहकार्यका विविध क्षेत्रमा भएका प्रगति र समस्याहरुबारे वृहत छलफल ग¥यौँ ’ उनले भने, ‘सीमा विवाद, प्रवूद्ध समूहको प्रतिवेदनलगायतका दुई देशका बीचमा रहेका आउटस्ट्याडिङ विषयहरुमा पनि खुलेर छलफल भयो । इतिहासले अधुरा छोडेका मुद्धाहरुलाई छिटो टुंग्याएर एउटा विश्वासको जग बनाएर अगाडि बढ्नुपर्छ भन्नेमा मैले जोड दिएको छु’ मन्त्री ज्ञवालीले भनेका छन् । श्रृङ्गलासँग भएको शिष्टाचार भेटमा प्रधानमन्त्री ओलीले सीमा लगायतका दुईपक्षीय विषयहरु वार्ताको माध्यमबाटै समाधान गर्न सकिने धारणा व्यक्त गरेका थिए । उनले भारतीय समकक्षी नरेन्द्र मोदीसँग भएको टेलिफोन सम्वादमा पनि आफूले यही विषय राखेको स्मरण गराइएको बताइएको छ । श्रृंगलाले दुई देशबीच रहेका केही समस्याका कारण समग्र दुईपक्षीय सम्बन्धलाई बन्धक बनाउन नहुने बताएका थिए । ‘हामीबीच केही समस्याहरु छन्, त्यो मलाई थाहा छ । गएको वर्ष कोभिड–१९ सँगै केही राजनीतिक समस्याहरु थपिए’ उनले भनेका थिए, ‘यी विषयहरुलाई वार्ताद्वारा समाधान गर्नुपर्छ । हाम्रो बीचमा गहिरो मित्रता छ, केही विषयले त्यो सम्बन्धलाई बन्धक बनाउनु हुन्न ।’
नेपाल–भारतबीचको सम्बन्ध यति जटिल र बहुआयामिक छ कि श्रृङ्गला नेपालसँग सम्बन्ध सुधारका लागि काठमाडौं आर्लिएकै दिन, गत बिहीबार, भारतीय सेनामा कार्यरत नेपाली नागरिक, दाङ तुल्सीपुर–९ का प्रेमबहादुर खत्री भारतको सीमारक्षाका क्रममा पाकिस्तानी सैनिकको गोली लागेर कश्मीरमा मारिए । भारतको सार्वभौमसत्ताको रक्षाको लागी बलिदान हुन पुगेका नेपाली नागरिकको मृत्युलाई भाडाको सैनिक मात्र मानियो भने त्यो ठुलो भुल हुनेछ । यस्तो सम्बन्धको परिवेशमा दुवै देशबीच ऐतिहासिकरूपमा थाँती रहेका विषयहरूको छिटोभन्दा छिटो समाधान गरेमा मात्र दुवै देशका जनताबीच गहिरो मित्रता कायम रहने छ । भनिन्छ जो जति नजिक हुन्छ ऊसँग समस्याहरू पनि त्यति नै धैरै हुन्छन् ।
पुस्तौं पुस्तादेखि भारतमा बसिआएका तर भारतको नागरिकता प्राप्त न गरेका नेपालीले अहिले भन्न थालेका छन्– भारत अब हाम्रो रहेन ! र उनीहरू अब नेपाल फर्किरहेका छन् र फर्किनेक्रममा छन् । जबकि नेपालमा भारतीय नागरिकहरू नेपाली नागरिकता प्राप्त गरेर वा नगरिक नै नेपालमा आरामका साथ सम्पत्ति जोडेर आफ्नो व्यापार व्यवसाय गरेर सम्मानपूर्ण जीवन व्यतित गरिहेका छन् । यसका साथसाथै भारतीय अर्थव्यवस्थामा समेत रेमिट्यान्सको माध्यमबाट राम्रो योगदान पुर्याइरहेका छन् ।
यस्तै आइतबार चिनियाँ राष्ट्रपतिपछि दोस्रो वरियतामा रहेका उपप्रधानमन्त्री तहका स्टेट काउन्सेलर तथा रक्षामन्त्री वेई फेङहेले केही घण्टा नेपालमा बिताए । फेङहेले दुई घण्टा चिनियाँ दुतावासमा र दुई घण्टा आर्मी हेडक्वार्टर भद्रकालीमा बिताए । यस्तै प्रधानमन्त्री निवास बालुवाटारमा आधा घण्टा र राष्ट्रपति निवासमा २० मिनेट बिताए । उनले दुई घण्टा चिनियाँ दुतावासमा कसरी बिताए त्यो अहिलेसम्म पनि रहस्यकै गर्भमा छ । प्रोटोकलमा अत्यन्त संवेदनशील रहने उपप्रधानमन्त्री तहका चिनियाँ फेङहेले कसरी नेपालको वरियताक्रममा दशौं स्थानमा रहेका विशिष्ट श्रेणीका नेपाली सेनाका प्रधानसेनापति पूर्णचन्द्र थापासँग प्रतिनिधिमण्डलस्तरको वार्ता गरे त्यो आफैंमा अर्थपूर्ण छ । यसबाट के स्पष्ट हुन्छ भने चिनियाँहरूले नेपाली सेनालाई नेपालको एकमात्र बलियो संस्थाकारूपमा लिएका छन् र उसैसँग सम्बन्ध प्रगाढ राख्न चाहन्छन् । र रक्षामन्त्री समेत रहेका प्रधानमन्त्री ओलीले पनि वार्ताको लागी नेपाली सेनालाई नै वार्ताको अख्तियारी दिएको देखिन्छ । यसभन्दा पहिले रक्षामन्त्री रहेका ईश्वर पोखरेलसंग सेनाको सम्बन्ध बिग्रिएको थियो । यसबाट प्रधानमन्त्री ओलीले सेनासंग आफ्नो सम्बन्ध सुमधुर रहेको संकेत दिएका छन् ।
त्रिभुवन अन्तर्राष्ट्रीय विमानस्थलमा एकदिने नेपाल भ्रमणमा आएका चीनका रक्षामन्त्री वेई फेङहेले चीन र नेपालका राष्ट्राध्यक्ष एवं सरकार प्रमुखका तहमा भएका द्विपक्षीय समझदारी कार्यान्वयनका सिलसिलामा आफू नेपालको छोटो भ्रमणमा आएको बताएका थिए । उनले अगाडी भने– चीन र नेपालका राष्ट्राध्यक्ष एवं सरकार प्रमुखका तहमा भएका द्विपक्षीय समझदारी कार्यान्वयनका सिलसिलामा आफू नेपालको छोटो भ्रमणमा आएको बताए । र पारस्परिक सैन्य सहयोग अभिवृद्धि गर्दै दुई देशबीचको विद्यमान सम्बन्धलाई थप सुदृढ तुल्याउनु आफ्नो भ्रमणको उद्देश्य भएको स्पष्ट पारेका थिए । साथसाथै चीन र नेपालबीच सबल एवं सुदृढ सम्बन्ध रहेको जनाउँदै उनले त्यस सम्बन्धलाई नयाँ उचाइमा पुर्याउने लक्ष्यका साथ आफू नेपाल आएको बताउँदै ‘भ्रमण परिणाममुखी हुनेमा म विश्वस्त छु, कोभिड–१९ का कारण भ्रमणमा केही विलम्ब भयो’, कोभिड–१९ का समयमा नै भएको आफ्नो भ्रमणको विशेष महत्व हुने कुरामा म विश्वस्त छु ।
प्रधानमन्त्री ओलीले फेङहेसंगको शिष्टाचार भेटमा आफ्नो पहिलो कार्यकाल सन् २०१६ मा भएको सन्धी सम्झौताहरू र दुई वर्षअघि चिनियाँ राष्ट्रपतिको नेपाल भ्रमणको अवसरमा भएको सम्झौताहरूको क्रियान्वयन गर्ने प्रतिबद्धता व्यक्त गरे । यसका साथ साथै सन् २०१५ मा नेपालको विरोध हुँदाहुँदै नेपाली भूमि लिपुलेक नाकाबाट चीन र भारतले व्यापारको लागि खोल्ने सम्झौता गरेका छन् त्यसबारेमा पनि कुरा भएको बताइएको छ । यसबारे भविष्यमा चीनको कस्तो प्रतिक्रिया आउँछ त्यसबाट पनि फेङहेको भ्रमण कति सफल भयो भन्ने आँकलन गर्न सकिने छ ।
विश्वशक्तिउन्मुख राष्ट्र चीन र क्षेत्रीय शक्तिराष्ट्र भारतका उच्च पदाधिकारीहरूको नेपाल भ्रमणको महत्व आफ्नो ठाउँमा छँदैछ । तर ती देशहरूसँग रहेको हाम्रो समस्याको समाधान जबसम्म हुँदैन तबसम्म भ्रमणको सार्थकता हुँदैन । चीनसँग हाम्रो तातोपानी र केरुङ नाका कनिकुथि चालु अवस्थामा छन् । ती नाकाहरुबाट हाल दिनको २० ट्रक सामान पनि आइरहेको छैन । बाटोको हालत त्यस्तै नराम्रो छ । नेपाली नागरिकहरूलाई चीन जानलाई अनेक किसिमको बाधा छ । हाम्रो परम्परादेखि चलिआएको नागरिकताको आधारमा मानसरोवर तीर्थ जाने अधिकार खोसिएको छ । यस्तोमा कसरी दुई देशका जनता जनताबीचको सम्बन्ध गाढा हुन्छ ? विचारणीय कुरा छ ।
कोभिड महामारीको बिचमा पनि भारतले अविच्छिन्नरूपमा नेपालको आपुर्ति व्यवस्थालाई यथावत राख्यो । यसले नेपाली जनताले ठुलो राहत महसुस गरे । गहिरो सम्बन्धको बारेमा छिमेकीहरूले व्याख्यान दिँदैमा सम्बन्ध सुदृढ हुँदैन । जबसम्म नेपालका जनताले धरातलमा गहिरो सम्बन्धको अनुभूति गर्दैनन् तबसम्म सम्बन्ध प्रगाढ र गहिरो हुँदैन ।
Twitter:@rmshghimire