Logo
Logo

सचिवालय बैठकमा ओलीको राजिनामा माग्ने तयारी


- दृष्टि न्युज/संवाददाता

567
Shares

काठमाडौं, १६ मंसिर ।
आज बस्न लागेको सत्तारुढ नेकपाको बैठकमा वार–पारको तयारी प्रचण्ड पक्षले गरेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको राजिनामा माग्ने उनीहरुको तयारी छ ।


अध्यक्ष केपी ओली र पुष्पकमल दाहाल प्रचण्डको बेग्लाबेग्लै राजनीतिक प्रतिवेदनसँगै पार्टी विवाद निर्णायक मोडमा पुगेपछि दुवै पक्षले अलग–अलग बटमलाइन अघि सार्ने तयारी गरेका छन् । मंगलबार पार्टी कार्यालय धुम्बाराहीमा बस्न लागेको केन्द्रीय सचिवालय बैठकमा ओली र प्रचण्डको प्रतिवेदनसहित दुवैतर्फबाट गरिएका पत्राचारको कार्यसूचीमाथि छलफल अघि बढ्ने भएपछि दुवै समूहले आन्तरिक छलफलबाट बटमलाइन बनाएका हुन् ।

निकासका लागि अहिलेसम्म विकल्पबारे दुवै पक्षका नेताहरूबीच औपचारिक र अनौपचारिक संवाद नभएका कारण प्रतिवेदनमाथिको छलफलकै क्रममा नेताहरूले आ–आफ्ना बटमलाइन प्रस्तुत गर्ने तयारी गरेका छन् । १३ मंसिरमा बैठकमा प्रधानमन्त्री एवं अध्यक्ष ओलीले पेस गरेको जवाफी प्रस्तावमाथि अर्का अध्यक्ष प्रचण्डले बुँदागत रूपमा जवाफ दिँदै छन् ।

‘सम्पूर्ण रूपमा लिखित जवाफ होइन, बैठकमा राख्नुपर्ने विषयको टिपोट तयार भएको छ,’ मंगलबारको सचिवालय बैठकका लागि प्रचण्डको तयारीबारे उनीनिकट एक नेताले बताए । उनका अनुसार प्रचण्डले प्रधानमन्त्रीको राजीनामा माग्ने सम्भावना पनि छ । यसअघि २८ कात्तिकको सचिवालय बैठकमा प्रचण्डले राखेको राजनीतिक प्रस्तावमा देश र पार्टीका लागि प्रधानमन्त्री एवं पार्टी अध्यक्ष ओलीले ‘त्याग’ गर्नुपर्ने माग थियो ।

प्रधानमन्त्री ओलीले आफू नेतृत्व हस्तान्तरणका लागि तयार रहेको जनाएर त्यसका लागि बेग्लै सर्तसमेत अगाडि सारेका छन् । उनले पार्टी नेतृत्व हस्तान्तरणका लागि चैतमा हुने महाधिवेशनसम्म पर्खिनुपर्ने र सरकारको नेतृत्व हस्तान्तरणका लागि चुनावसम्म कुर्नुपर्ने सर्त राखेका छन् । ओलीको यही प्रस्तावमाथि टेकेर प्रचण्ड–नेपाल समूहले अब ओलीको राजीनामा आउनुपर्ने सर्त अगाडि सार्ने तयारी गरेको छ । ओलीमाथि लगातार दबाब बनाइरहेको प्रचण्ड–नेपाल समूहले हरेक बैठकमा थप दबाब बढाउँदै लैजाने रणनीति पनि बनाएको छ ।

दुई अध्यक्षका फरक–फरक प्रस्तावपछि नौ सदस्यीय सचिवालय दुई खेमामा विभाजित भएको छ । एउटा खेमाको नेतृत्व प्रधानमन्त्री ओलीले र अर्को खेमाको नेतृत्व कार्यकारी अध्यक्ष प्रचण्डले गर्दै आएका छन् । ओलीलाई अहिलेसम्म उपप्रधानमन्त्री ईश्वर पोखरेल, गृहमन्त्री रामबहादुर थापा ‘बादल’ र महासचिव विष्णु पौडेलले साथ दिँदै आएका छन् । तर, प्रतिवेदनमाथि छलफल अघि बढेपछि बादलले आफूलाई साथ दिने प्रचण्डले निकटस्थ नेताहरूसँग दाबी गर्दै आएका छन् ।

प्रचण्डको प्रतिवेदनलाई वरिष्ठ नेता माधवकुमार नेपाल, झलनाथ खनाल, उपाध्यक्ष वामदेव गौतम र प्रवक्ता नारायणकाजी श्रेष्ठले साथ दिँदै आएका छन् । तर, ओली र उनीनिकट नेताहरूले भने गौतमले सकभर ओलीलाई नै साथ दिने, त्यस्तो नभएको खण्डमा उनको भूमिका तटस्थ हुने विश्वास गर्दै आएका छन् । गौतमको अस्थिर भूमिकाका कारण प्रचण्ड र नेपाल पनि उनीसँग पूर्ण आश्वस्त भइसकेका छैनन् ।
सचिवालयमा अल्पमतमा रहेकाले ओली संकटमा छन् । आफ्नो प्रतिवेदन पास नभए उनी आफैं नैतिक संकटमा पर्नेछन् । जसकारण उनले कुनै चाल चाल्न सक्ने आँकलन गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्