Logo
Logo

पूँजी पलायनप्रति कठोर बन्दै सरकार


- दृष्टि न्युज/संवाददाता

252
Shares

काठमाडौं, १६ मंसिर । प्रधानमन्त्री केपी शर्मा ओलीले पहिलोपटक सार्वजनिकरुपमै नेपालमा व्यापार व्यवसाय गरेर कमाएको पैसा विदेश लगेर लगानी नगर्न उद्योगी व्यवसायीलाई आग्रह गरेका छन् । प्रधानमन्त्री ओलीले नेपालबाट पूँजी पलायन भएको सूचना पाएरै व्यवसायीहरुले दुई चार पैसाको लोभमा यहाँ कमाएको पैसा विदेश लैजानु राष्ट्रका लागि घातक भएको बताए ।

नेपाल उद्योग वाणिज्य महासंघको ५४औँ साधारणसभालाई गत मंसिर ११ गते सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले यसो भनिरहँदा धेरैले विनोद चौधरीलाई सम्झिए । चौधरीले २०५१ सालमा नेकपा एमालेको नौ महिने सरकार भएको बेला नेपाल अरब बैंक खरिद गरेर नबिल बैंकका रुपमा उक्त बैंक सञ्चालन गरिरहेका छन् । नबिल बैंक कुनै विदेशी बैंकसँगको संयुक्त लगानीमा स्थापित बैंक होइन । तर पनि त्यस बैंकले हरेक वर्ष अर्बौ रुपैयाँ मुनाफाका रुपमा विदेश लैजान्छ । यस विषयमा नेपाल राष्ट्र बैंकले अहिले आएर चासो राख्न थालेको छ ।

समाचार स्रोतका अनुसार नबिल बैंकमा बंगलादेशको एनबी इन्टरनेशनलको शेयर स्वामित्व देखिन्छ । एक जना पिन्टु भन्ने बंगाली नागरिकको नाममा उक्त कम्पनी दर्ता छ । बेलायतमा एक पाउण्डको पूँजी भएको उक्त कम्पनीले नबिल बैंकको ५० प्रतिशत शेयर कसरी हात पा¥यो भन्ने कुरा नै अचम्मको छ । तत्कालीन राष्ट्र बैंकको गभर्नर सत्येन्द्र प्यारा श्रेष्ठसँग सेटिङ गरेर चौधरीले उक्त बैंक हत्याउन सफल भएका थिए । प्रधानमन्त्री ओलीले यसरी गैरकानूनीरुपमा चौधरीले विदेशमा रकम पठाएको थाहा पाएपछि त्यसको सोधीखोजी गरेका थिए । र, अख्तियार दुरुपयोग अनुसन्धान आयोगको क्षेत्राधिकार बढाएर बैंक तथा वित्तीय संस्थाको छानबिन गर्ने अधिकार पनि अख्तियारलाई दिने सोच बनाएका थिए । तर, संसद् बैठक स्थगित भएकोले अख्तियारसम्बन्धी विधेयक संशोधन हुन सकेको छैन । राजनीतिक अस्थिरता र शक्तिकेन्द्रको आडमा चौधरीले प्रत्येक वर्ष झण्डै दुई अर्ब रुपैयाँ बराबरको मुनाफा विदेश लगेर विदेशमै लगानी गरिरहेको स्रोत बताउँछ ।

प्रधानमन्त्री तहबाटै सोधीखोजी हुन थालेपछि राष्ट्र बैंकले उक्त शेयर वित्तीय संस्थालाई बिक्री गर्न चौधरीलाई पत्राचार गरेको छ । राष्ट्र बैंकको पछिल्लो निर्देशनले अप्ठेरोमा परेका चौधरीले अहिलेसम्म त्यसको जवाफ राष्ट्र बैंकलाई दिएका छैनन् । जसका कारण भोलि बैंकमै समस्या नआउला भन्न सकिन्न । झण्डै १६ वर्षदेखि चौधरीले विदेशमा लगेको बैंकको मुनाफा वर्षको दुई अर्बको दरले पनि ३२ अर्ब हुन आउँछ । त्यो रकम नेपाली जनताकै ब्याज र बचतको प्रतिफल हो । बाफिया अनुसार विदेशी बैंक तथा वित्तीय संस्थाले मात्र नेपालका बैंकमा लगानी गर्न पाउँछन् । तर, चौधरीले एक व्यक्तिको नाममा विदेशमा कम्पनी खोलेर खुलमखुला पूँजी पलायन गर्दासमेत उनीमाथि कसैले कारवाही गर्ने आँट गरेको छैन । कहिले नेकपा एमालेको त कहिले नेपाली कांग्रेसको सभासद बनेर अहिलेसम्म आफ्नो आर्थिक अपराध लुकाइरहेका चौधरी गत बिहीबार प्रधानमन्त्री ओलीको भाषणपछि तर्सिन थालेको स्रोत बताउँछ ।

प्रतिक्रिया दिनुहोस्