Logo
Logo

सुरक्षा निकायमा सेटिङ


- दृष्टि न्युज/संवाददाता

4.3k
Shares

काठमाडौं, १६ मंसिर । प्रहरी महानिरीक्षक नियुक्तिमा हुने चलखेल सधै प्रहरीको ठेक्कामा जोडिने गर्दछ । प्रहरीले वार्षिक करिब दुई अर्बको ठेक्का गर्दछ । त्यसमध्ये आधा जसो कपडा लगायत स्केलका सामान खरिदमा खर्च हुन्छ । ती सामान खरिदमा ठूलो चलखेल हुन्छ । प्रहरीसँग सेटिङ मिलाएर सस्तोमा टेण्डर हाल्ने अनि गुणस्तरहीन सामान भिराउने । प्रहरीलाई १० प्रतिशत कमिसन दिएपछि गुणस्तरहीन कपडा पनि गुणस्तरीय भनेर प्रमाणित गरिदिने । यसरी प्रहरीले नेतृत्वले करोडौं कमाउने र त्यही पैसा सबैतिर बाड्ने गर्दथे । जसको परिणाम एक वर्षलाई पु¥याउनुपर्ने प्रहरीको कपडा २ महिनामा नै फाट्थ्यो । यस्तो समस्या हल गर्न प्रहरी प्रधान कार्यालयले पहल थालेको छ । तर, ठेकदारबाटै असहयोग भएको छ ।

ठेकदारमा हुने चलखेल रोक्न प्रहरी प्रधान कार्यालयले आइतबार स्केलका सामानको नयाँ स्पेशिफिकेसन सार्वजनिक गरेको छ । नयाँ स्पेसिफिकेसनअनुसार प्रहरीले अब गुणस्तरीय कपडा पाउनेछन् । यसका लागि पारदर्शी रुपमा टेण्डर गर्न लागिएको छ । तर, सेटिङमा ठेक्का पार्दै आएका ठेकदारहरुले यतिबेला संगठित रुपमा प्रहरीलाई असहयोग गरिरहेको स्रोत बताउँछ ।

विगतमा कतिसम्म चलखेल हुन्थ्यो भन्ने हालैको एउटा घटनाले समेत देखाएको छ । ठेकदार पशुपति मुन्काले गुणस्तर परीक्षणमै प्रहरीलाई झुक्याउन खोजेका छन् । उलन पाइन्टसम्बन्धि कपडाको ठेक्का पाएका क्राउन टेक्सटाइल कम्पनीका सञ्चालक पीताम्बर मुन्काले प्रहरीलाई नै ठग्ने प्रयास गरेका हुन् ।

दुई वर्षअघि मुन्काको कम्पनीले करिब २६ हजार मिटर ऊनी कपडा खरिद गर्ने ठेक्का पाएको थियो । उनले कपडा बुझाएपछि प्रहरीले परीक्षणका लागि नयाँदिल्लीमा नमुना पठाएको थियो । परीक्षणमा गुणस्तरमा फेल भएपछि उनको कपडा नलिने निर्णय भएपनि उनले अनेक चलखेल गरेका थिए ।

प्रहरीको निर्णयविरुद्ध सुरुमा उनी अदालत गए । आफ्नो रोहवरविनै नमुना संकलन गरी परीक्षणमा दिएको बताउँदै फेरि परीक्षण गर्नुपर्ने गरे । नमुना संकलन गर्दा उनलाई रोहवरमा नराखेकाले अदालतले उनकै पक्षमा आदेश दियो । त्यसपछि प्रहरीले फेरि उनलाई रोहवरमा राखी नमुना परीक्षणमा पठायो ।

त्यसक्रमा उनले गुणस्तरीय कपडा परीक्षणमा पठाएर चलखेल गरेका हुन् । प्रहरीले पठाएको भन्दा छुट्टै कपडा उनले सोही कम्पनीमा परीक्षणमा पठाएर त्यसको परीक्षण रिपोर्ट प्रहरीलाई मेल गरेर ठग्ने प्रयास गरेका हुन् । तर, उनी असफल भए । उनलाई पक्राउ गरेर कारबाही गर्ने प्रहरी तयारी छ । प्रहरीलाई यसैगरी ठगेर मुन्काले करोडौं कमाइसकेका छन् । सुरक्षा निकायको ठेक्कामा केही सिमित ठेकदारहरुको सिन्डिकेट छ । जसकारण तीनै वटा सुरक्षा निकाय पीडित हुँदै आएका छन् ।

प्रतिक्रिया दिनुहोस्