Logo
Logo

दुई एसपीका विगतका अनियमितता समेत छानबिन हुने


- दृष्टि न्युज/संवाददाता

4.5k
Shares

काठमाडौं, १८ मंसिर
नेपाल प्रहरीका दुई एसपीसहित चार अधिकृत एकैदिन निलम्बनमा परेका छन् । दुई एसपी र इन्सपेक्टर आर्थिक अतियमितता तथा डिएसपी डिउटीमा चरम लापरबाही गरेकोमा निलम्बनमा परेका हुन् ।


प्रदेश ट्राफिक प्रहरी कार्यालय कर्णालीमा अनियमितता गरेकोमा एसपीद्वय विमल बस्नेत र रामेश्वर प्रसाद यादब निलम्बनमा परेका हुन् । बस्नेत महानगरीय प्रहरी कार्यालय तथा यादब महानगरीय ट्राफिक प्रहरी महाशाखामा कार्यरत थिए । एसपी यादब चार महिनाअघिसम्म प्रदेश ट्राफिक कार्यालय सुर्खेतमा थिए । उनी अघि एसपी बस्नेत त्यहाँ कार्यालय प्रमुख थिए । प्रदेशका सबै जसो ट्राफिक कार्यालयबाट उनीहरुले पैसा उठाउने गरेको प्रहरी महानिरीक्षकको सचिवालयले गरेको छानबिनमा पुष्टि भएपछि उनीहरुलाई निलम्बन गरिएको हो । उनीहरुको अनियमिततामा साथ दिने इन्सपेक्टर मेघराजप्रसाद चौरसियलाई पनि निलम्बन गरिएको छ । निलम्बन गरी उनीहरुमाथि थप छानबिन अघि बढाइएको प्रहरी प्रवक्ता एसएसपी बसन्तबहादुर कुँवरले बताए । प्रहरीको उजुरी छानबिन शाखाले यसअघि नै उनीहरुसँग बयान लिएको थियो । चालक तथा बडिगार्डमार्फत समेत उनीहरुले पैसा असुल्ने गर्दथे ।
स्रोतका अनुसार मातहतका प्रहरी कार्यालयका इन्चार्जसँग उनीहरुले मासिक रुपमा दररेट तोकेरै पैसा मगाउने गर्दथे । उनीहरुबाट आजित भएका प्रहरीले नै मुख्यालयमा उजुरी गरेका थिए ।
स्रोतका अनुसार दुवै एसपीको विगतका गतिविधिको समेत थप छानबिन गर्न लागिएको छ । कारबाहीको सिफारिस भएका दुवै एसपी खराब ‘ट्रयाक रेकर्ड’भएका प्रहरी अधिकारी हुन् । एसपी यादबले पटक पटक विभागीय कारबाही भोगिसकेका छन् ।दुई वर्षअघि सिन्धुलीमा प्रहरी प्रमुख हुँदा पनि घुस उनी घुसकाण्डमा परेका थिए । बिपी राजमार्गमा मापदण्डविपरीका सवारी साधन सञ्चालन गर्न दिने र त्यसबाट दैनिक पैसा असुल्ने गरेको प्रहरी मुख्यालयको छानबिनमा खुलेको थियो । तत्कालिन प्रहरी नेतृत्वले सामान्य कारबाही गरेर उनलाई उन्मुक्ति दिएको थियो । त्यो फाइल फेरि पल्टाउन लागिएको स्रोत बताउँछ ।
इन्सपेक्टर हुँदा रुपन्देहीमा लागुऔषध कारोबारीसँग पैसा लिएकोमा निलम्बनमा परेकामा सामान्य कारबाही गरेर जागिरमा फकाईएको थियो । महानगरीय प्रहरी वृत्त सातदोबाटोमा हुँदा पनि घुस लिएको उजुरीमा छानबिन भएपनि प्रमाण नपुगेपछि कारबाहीबाट जोगिएका थिए ।
त्यस्तै, एसपी बस्नेत पनि विगतमा पटक पटक छानबिनमा परेका थिए । यादब र बस्नेत दुवै राष्ट्रिय अनुसन्धान विभागबाट प्रहरीमा स्थानान्तरण भएका हुन् ।
‘प्रहरीमा शून्य सहनशीलताको नीतिलाई व्यवहारमै उतार्न निलम्बन गरिएको हो,’ एक उच्च प्रहरी अधिकारीले भने,‘यो अन्य त्यस्तै प्रहरीलाई सुध्रने मौका पनि हो ।’ प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले शुद्धीकरणको काम थाली प्रहरीका काम कारबाहीविरुद्ध परेका उजुरीलाई गम्भीरताका साथ छानबिन गर्न उजुरी छानबिन शाखालाई निर्देशन दिएका छन् ।
त्यस्तै डिउटीको समयमा होटलमा भेटिएका इलाका प्रहरी कार्यालय मालाखेती, कैलालीका इन्चार्ज डिएसपी भरतबहादुर चौधरीलाई पनि गृह मन्त्रालयले निलम्बन गरेको छ । माथिल्लो निकायलाई खबर नै नगरी गत ९ मंसिरको बेलुका उनी सम्पर्कविहिन भएका थिए । भोलिपल्ट उनी होटलमा बसेको खुलेको थियो । डिउटीमा चरम लापरबाही गरेको आरोपमा उनलाई निलम्बन गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

 

प्रतिक्रिया दिनुहोस्