बाजुरा, १९ मंसिर । जिल्लाको सदरमुकामा मार्तडीको लोकतान्त्रिक चोकबाट एक वृद्धको पैसा लुटेर भागेका एक जना फेला परेका छन् । २०७७ असोज २६ गते बीच बजारबाट एक वृद्धको पैसा लुटेर भागेका बडिमालिका नगरपालिका–९ का २१ वर्षीय गोपाल विकले लुटेको थाहा हुन आएको प्रहरीले जनाएको छ ।
हिमाली गाउँपालिका–५ बच्छ्याका ६४ वर्षीय चाउरे मलालका ५८ हजार रुपैयाँ लुटेर फरार भएका विकले केही दिन अगाडि राष्ट्रिय वाणिज्य बैंक अगाडिबाट एक महिलाको आठ हजार रुपैयाँसमेत लुटेका र खोज अनुसन्धनको क्रममा मलालका ५८ हजार रुपैयाँसमेत उनले लुटेको प्रमाणित भएको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी निरीक्षक बलेन्द्र नाथले बताएका छन् ।
हिमाली गाउँपालिका–५ का चाउरे मलाल हुलाकी हुन् । उनले हुलाकबाट तलव लिएर फर्किँदा ती युवकले देखेको र तपाईँलाई पैसा कम आएको छ एकपटक पैसा गन्नुपर्ने भयो यता दिनुहोस् भनी लगेको पछि फिर्ता नगरपछि प्रहरीमा उजुरीसमेत परेको र प्रहरीको अनुसन्धनपछि ती युबकले नै लुटेको बुझिएको छ ।
गत मंगलबार दिउँसो पनि राष्ट्रिय वाणिज्य बैंकमा अपांग भत्ता बुझेर गेटमा रुपैयाँ गनिरहेकी महिलाको हातबाट तानेर लिएर फरार रहेका युवकलाई प्रहरीले केही समयमै उनकै घरबाट पक्राउ गरी जिल्ला प्रहरी कार्यालयमा लगी बयान र अनुसन्धन गर्दै जाँदा त्यही युवकले चोरको प्रमाणित भएको प्रहरीको भनाइ छ ।
विभिन्न अनुसन्धानपछि युवकले वृद्ध मलालको पैसा लिएको र सबै पैसा रक्सी खाएर सकेको २ हजार ५०० मा एउटा जकेट किनेको बुझिएको प्रहरीको भनाइ छ ।
– नन्दा थापा