काठमाडौं, २० मंसिर
कोरोना महामारीको बेलामा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ‘सेटिङ’ मा मानवतस्करी भइरहेको खुलेको छ । केही प्रमाण भेटिएपछि गृह मन्त्रालयले छानबिन थालेको छ । अन्तर्राष्ट्रिय उडान सुचारु भएसँगै भिजिट भिसाबाट खाडी देशमा ठूलो संख्यामा युवा–युवतीहरु गएको देखिएपछि छानबिन सुरु भएको हो ।
गृह मन्त्रालयले उपसचिव रुद्र प्रसाद पण्डितको संयोजकत्वमा एक समिति गठन गरेको छ । मानवतस्करी गिरोहकसँगै मिलेर अध्यागमनका कर्मचारीले भिजिट भिसामा सहजै जान दिएको सूचनाका आधारमा छानबिन थालिएको गृह मन्त्रालय स्रोतले जनाएको छ । ‘खासगरी रातीको उडानमार्फत ठूलो संख्यामा नेपालीहरु यूएई र कतार गएको देखियो,’ मन्त्रालयका एक उच्च अधिकारीले भने,‘प्रारम्भिक छानबिनमा केही कर्मचारीको मिलेमतो देखिएको छ ।’ अध्यागमन विभागले सेटिङमा संलग्न भएको आशंकामा केही कर्मचारीलाई विमानस्थलस्थित अध्यागमन कार्यालयबाट हटाइसकेको छ ।
स्रोतका अनुसार विमानस्थलस्थित अध्यागमन प्रमुख सैलोचन गैंजुलाई समेत छानबिनको दायरामा ल्याइएको छ । गैंजुले भने अध्यागमनबाट कुनै गल्ती नभएको दाबी गरे । ‘तोकेको कागजपत्र देखाएपछि हामीले जान दिनैप¥यो,’ उनले भने,‘शंकास्पद लागेकालाई हामीले दैनिक रुपमा फकाइरहेका पनि छौं ।’
गृह स्रोतका अनुसार सेटिङकै कारण अध्यागमन र प्रहरीबीच समेत विवाद भएको थियो । छानबिन समितिले अन्तर्राष्ट्रिय उडान खुलेपछि भिजिट भिसामा विदेश गएका नेपालीहरुको सबै विवरण संकलन गरिसकेको छ । खासगरी दुबईमा ठूलो संख्यामा नेपालीहरु गएका छन् । दुबईमा कामदारको माग हुन थालेकाले भिजिट भिसामा सेटिङ मिलाएर लैजान थालिएको छ ।
गृह मन्त्रालयले थालेको छानबिन समितिमा अध्यागमन विभागका निर्देशक चुणा न्यौपाने लगायत छन् ।