काठमाडौं, २१ मंसिर । अन्य महिलाका तुलनामा अपांगता भएका महिलामा बढी हिंसा भएको पाइएको छ । राष्ट्रिय अपांग महासंघ नेपालको पछिल्लो अध्ययनले समाजमा हेलत्वको भावना र हिंसाको चपेटामा त्यस्ता महिला बढी पर्ने गरेको देखाएको हो ।
अध्ययनका अनुसार अपांगता भएका ६७ प्रतिशत महिला हिंसामा पर्ने गरेको तर उजुरीको दर भने १६ प्रतिशतमात्र रहेको देखाएको छ । अपांगता भएका व्यक्तिको २९औँ अन्तर्राष्ट्रिय दिवसका अवसरमा महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय र महासंघसहित संस्थाले आइतबार भर्चुअलरुपमा आयोजना गरेको ‘अपांगता भएका महिलामाथि निरन्तर भइरहेका विभिन्न प्रकारका हिंसाको पृष्ठभूमिमा अपांगता भएका व्यक्तिको न्यायमा पहुँचको अवस्था’ विषयक बहसमा सो जानकारी दिइएको हो ।
कार्यक्रममा महासंघका महिला उपाध्यक्ष रमा ढकालले अध्ययनमा अन्य महिलाभन्दा १० गुणा बढी अपांगता भएका महिला हिंसामा परेको पाइएको जानकारी दिइन् । उनले गम्भीर शारीरिक अशक्तता भएका महिलालाई बलात्कारसमेत हुने गरेको पाइएकाले त्यस्ता घटना रोक्न र दोषीलाई कारवाही गर्न हस्तक्षेप गर्नुपर्ने जनाइा् ।
उपाध्यक्ष ढकालले अपांगता भएका महिलालाई प्रजनन स्वास्थ्यसम्बन्धी विषयमा पनि समाजमा अन्धविश्वास र गलत सोचका आधारमा अवहेलना र गालीगलोज गरिने गरिएको गुनासो गरे । उनले भनिन्, ‘अपांगता भएका महिलालाई कसैले प्रेम र विवाह गर्दैनन् भन्ने सोच विकास गरिएको छ । यस्ता व्यक्तिमा यौन क्षमता कमजोर हुन्छ भन्ने गलत धारणा फैलाइएको छ । यो गलत सोच हो । यसलाई सामाजिक सचेतना तथा कानूनको पालनाबाट तोड्नुपर्छ ।’
राष्ट्रिय महिला आयोगका सचिव शान्ता अधिकारी भट्टराईले अपाङ्गता भएका महिलाको पीडाका अवस्थामा आयोगले मल्हमपट्टी लगाउन कोशिस गरिरहेको बताइन् । लैंगिक हिंसाविरुद्धको १६ दिने अभियानका क्रममा पनि यस सवाललाई प्राथमिकता दिइएको उनको भनाइ थियो । महासंघका अध्यक्ष मित्रलाल शर्माले अपांगता भएका सबै व्यक्तिको अधिकार स्थापना र महिला हिंसाको अन्त्यका लागि आफूहरुले वकालत गरिरहे पनि स्थितिमा अझै सुधार नआएको बताए । नेपालमा अपांगता भएकाको जनसंख्या करिब पाँच लाख रहेको बताइएको छ ।