काठमाडौं, २१ मंसिर । नेकपाको स्थायी समिति बैठक पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा सुरु भएको छ । अहिले १ बजे सुरु भएको बैठकमा अध्यक्ष तथा प्रधानमन्त्री केपी ओली सहभागी छैनन् । प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाका अनुसार आजको बैठकमा ओली सहभागी हुने छैनन् ।
अध्यक्ष ओलीले स्थायी समितिको बैठकको औचित्य नभएको बताउँदै आएका छन् । शनिबार बालुवाटारमा आयोजित सचिवालय बैठकमा ओलीले अधिकांश सदस्यहरुले सचिवालयबाट निकास ननिस्केपछि दुवै अध्यक्षका प्रतिवेदनमाथि स्थायी कमिटीमा छलफल गरेर निष्कर्ष निकाल्न दिएको सुझावलाई प्रतिवाद गर्दै स्थायी समिति बैठकको औचित्य नरहेको बताएका थिए ।
आजको स्थायी समिति बैठकमा अध्यक्ष ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को राजनीतिक प्रस्ताव पेश गर्ने ती प्रस्तावमाथि छलफल गर्ने कार्यक्रम तय भएको थियो ।