Logo
Logo

नजिकको तीर्थ हेला, नेपाल–बंगलादेशबीच अवसर नै अवसर


- शंकरमान सिंह

1.2k
Shares

  • शंकरमान सिंह

सन् अप्रिल, १९७२ मा कूटनीतिक सम्बन्ध स्थापना भएदेखि यता नेपाल र बंगलादेशबीच द्विपक्षीय घनिष्ट सम्बन्ध रहेका छन् । दुई देशहरूबीचको सम्बन्ध सौहार्द, सद्भावना, आपसी समझदारी र सहयोगमा आधारित छ । बंगलादेश भौगोलिकरुपमा नेपालबाट धेरै नजिक भएर पनि नजिकको तीर्थ हेलाझैँ भएको छ ।

नेपाल–बंगलादेशको द्विपक्षीय, क्षेत्रीय र अन्तर्राष्ट्रिय क्षेत्रमा समेत व्यापार, पर्यटन, जलस्रोत र लगानी प्रवद्र्धनका लागि महत्वपूर्ण भए पनि नेपालले खासै फाइदा लिन सकेको छैन । नेपाल र बंगलादेश एलडिसीको वर्गमा भएकोले हामीबीच समान समस्याहरू पनि छन् । यद्यपि, बंगलादेश हालै विकासशील देशको स्थितिमा स्तरोन्नति भएको छ ।

हाम्रो आर्थिक विकासको साझा हितलाई पूरा गर्न नेपाल र बंगलादेशले विद्यमान समस्याहरूलाई विचार गर्दै काकडभिट्टा–फूलबारी बंगलाबन्द मार्गलाई प्रभावकारी उपयोगमा ल्याउनुपर्दछ र यसलाई मोंगला बन्दरगाहसम्म पहुँच पु¥याउनु पर्दछ । मोंगला पोर्ट जोड्ने बंगलाबन्ध सडकको पूर्ण उपयोगले दुई देशबीच तेस्रो देश व्यापारको मात्रा मात्र बढाउँदैन, यसले नेपाल र बंगलादेशबीचको द्विपक्षीय व्यापारमा नयाँ आयाम पनि थप्नेछ ।

त्यसो भएको हुनाले दुवै देशले सामूहिकरूपमा आम जनता र हाम्रो देशको आवश्यकतालाई सम्बोधन गर्न एक अर्काबाट सिकेर साझा समस्याहरू समाधान गर्न सक्छौँ । नेपाल र बंगलादेश दुवै डब्ल्यूटीओ, बिमेस्टेक र सार्कको सदस्य देश भएकोले यस प्रकारको अन्तर्राष्ट्रिय र क्षेत्रीय फोरमको उपयोग क्षेत्रीय र द्विपक्षीय व्यापारलाई वृद्धि गर्न र लगानीका अवसरहरू सिर्जना गर्न सक्ने छन् ।

सार्क मन्त्रीहरूको काउन्सिलमा यसअघिका बैठकहरुले काठमाडौंलाई बंगलादेश मार्फत भारतको चटगाउँसँग जोडेर अन्य परियोजना कार्यान्वयन गर्ने निर्णय गरेको थियो । यसको कार्यान्वयन भएमा अन्तर्राष्ट्रिय यातायात कनेक्टिभिटी परियोजनाले क्षेत्रीय एकता र देश, देशबीचको गठबन्धनलाई अझ सुदृढ बनाउनेछ । नेपाल र बंगलादेश छिमेकी देशहरू भए पनि दुई देशहरूबीचको व्यापार र आर्थिक सम्बन्ध नगण्य छ । समानता र पारस्परिक लाभको आधारमा व्यापार र आर्थिक सहयोगलाई बढावा दिनको लागि सचेत भए पनि हामी हाम्रो द्विपक्षीय व्यापार विस्तार गर्न सक्षम भएका छैनौं । त्यसो भएको हुनाले हाम्रो व्यापारको मात्रा र आर्थिक सम्बन्ध वृद्धि गर्न हामीले एक प्रभावकारी ‘रोडम्याप’ सुरू गर्नुपर्छ । कोभिड–१९ पछि दुवै देशले यसतर्फ सोच्न आवश्यक छ ।

नेपालले बंगलादेशी ब्यापार मेलाहरूमा भाग लिइरहेको छ । त्यस्तै बंगलादेशले काठमाडौंमा एकल देश व्यापार मेला आयोजना गरेर बंगलादेशका उत्पादनहरुसँग नेपाललाई आकर्षित गरिरहेको छ । देशको आर्थिक स्थिति सन्तोषजनक नभएको बेला यो वास्तवमै महत्वपूर्ण छ । यसले बंगलादेशी उत्पादनहरूलाई मात्र बढावा दिँदैन, नेपाली उद्यमीहरूलाई बंगलादेशी समकक्षहरूसँग संयुक्त लगानीको सम्भावित क्षेत्रहरू पत्ता लगाउन मद्दत गर्दछ ।

हाम्रो आर्थिक विकासको साझा हितलाई पूरा गर्न नेपाल र बंगलादेशले विद्यमान समस्याहरूलाई विचार गर्दै काकडभिट्टा–फूलबारी बंगलाबन्द मार्गलाई प्रभावकारी उपयोगमा ल्याउनुपर्दछ र यसलाई मोंगला बन्दरगाहसम्म पहुँच पु¥याउनु पर्दछ । मोंगला पोर्ट जोड्ने बंगलाबन्ध सडकको पूर्ण उपयोगले दुई देशबीच तेस्रो देश व्यापारको मात्रा मात्र बढाउँदैन, यसले नेपाल र बंगलादेशबीचको द्विपक्षीय व्यापारमा नयाँ आयाम पनि थप्नेछ ।

नेपालले अत्यधिक साहसिक पर्यटन, ट्रेकिङलगायत पर्यटन क्षेत्रका अन्य ठाउँमा बंगलादेशी पर्यटक भित्र्याउन सकछ । यसका लागि सीमावर्ती पर्यटकहरूलाई प्रोत्साहित गर्न नेपालको पूर्वी भाग भद्रपुरबाट बंगलादेशको हवाई उडान पनि नियमित र प्रभावकारी हुनु पर्दछ । दुवै देशहरूले कार्गो यातायात मोडलिटी सम्झौतामा हस्ताक्षर गर्ने निर्णय गरिसकेका छन् । यसबाट दुवै मुलुक सबै प्रकारका सार्वजनिक र निजी सवारी साधनहरू नेपाल र बंगलादेशबाट आउने जाने सजिलो हुनेछ ।

नेपाली कृषि उत्पादनहरु बंगलादेशमा निर्यात गर्न ठूलो अवसर छ । जस्तै दुग्ध उत्पादन, मसला, फलफूल, सागसब्जीलगायत टमाटर, हरियो मटर, काकडी, मिठो मिर्च, अदुवा, ठूलो अलैंची, स्याउ, सुन्तला, नाशपाती, स्ट्रबेरी, दालहरू आंशिक रूपमा मसूर इत्यादि निर्यात गर्न सक्छौँ । तर, यी उत्पादनहरूमा प्रतिस्पर्धी हुन बंगलादेशले द्विपक्षीय व्यापारको सन्दर्भमा नेपालबाट आयात गर्न प्रोत्साहन गर्नुपर्दछ । नेपालले बंगलादेशमा ढुंगा, बोल्डर र चिसो पानीको माछाजस्ता उत्पादनहरू पनि निकासी गर्न सक्छ किनभने, बंगलादेशमा यी नेपाली उत्पादनहरूका लागि मुख्य बजार बन्न सक्ने प्रचुर सम्भावना रहेका छन् ।

नेपालमा हुने लगानीको सम्बन्धमा, बंगलादेशको वैदेशिक लगानी वित्तीय क्षेत्र, सूचना प्रविधि, पर्यटन आदिको क्षेत्रमा हुन सक्ने प्रबल सम्भावना रहेको देखिन्छ । नेपालका निजी क्षेत्रहरू दुई देशहरूबीचको आर्थिक सम्बन्ध र व्यापारको तीब्रताका लागि जनता–जनताबीचको सम्पर्कमा विश्वास गर्दछन् । नेपाली र बंगलादेशी जनताबीच नियमित सम्पर्कलाई सहज बनाउन निजी क्षेत्रको स्तरमा भ्रमण र सूचना आदान–प्रदान गर्नु आवश्यक छ र दुवै देशहरूमा आयोजना गरिएको मेला र प्रदर्शनीहरूमा पनि सहभागिता बढाउनु आवश्यक छ ।

नेपालले बंगलादेशको लघुवित्त ऋणको अवधारणाको सफल प्रयोगबाट पाठ सिक्नुपर्दछ । हामीले डा. मोहम्मद युनुसले गरिबी निवारणका लागि ग्रामीण क्षेत्रका विपन्न वर्गको जीवनस्तर उठाउन गरेका अथक प्रयासका लागि धन्यबाद दिनुपर्दछ । यस सम्बन्धमा केहि बर्ष अगाडी आयोजना गरेको एक कार्यक्रममा प्रो. युनुसले अत्यन्त उल्लेखनीय भाषण दिएका थिए, जुन हाम्रा लागि मननयोग्य छ ।

दुई देश बीचको व्यापारिक सम्बन्ध सुदृढीकरण गर्ने अर्को संभावना बंगलादेशदेखि नेपाल सम्म ग्यास पाइप लाइन निर्माण हो । बंगलादेशमा प्राप्त पर्याप्त ग्यासले नेपालको ग्यास समस्यालाई मात्र कम गर्दैन, यसले छिमेकी बंगलादेशलाई समृद्ध बनाउन पनि मद्दत पुर्यादउँछ । विश्वले धेरै नै ठूलो उतार चढाव सामना गरिरहेको बेला एकअर्काको सजिलो पहुँचमा रहेका हाम्रा मित्र राष्ट्रहरूले व्यापारको नाफालाई सहजरूपमा चलाउन सक्नु पर्दछ ।

नेपाल र बंगलादेश वाणिज्य सचिव स्तरीय वार्ता दुई देशहरूबीच व्यापारको मात्रा विस्तार गर्नका लागि टेक्निकल बाधक हटाउने (टीबीटी) हटाउने समझदारी ज्ञापन पत्रमा हस्ताक्षर भएका छन् । अब, दुवै पक्षहरूले गुणस्तरीय प्रमाणीकरण प्रक्रियाहरू र एक अर्काको देशहरूमा उत्पादनका उत्पादहरूको गुणस्तर सम्बन्धी मुद्दाहरूलाई सम्बोधन गर्न, ल्याब अपरेशनहरू अवलोकन गर्नेछन् । किनकि, सहमतिपत्रले आउँदो दिनमा क्वारेनटाइन सम्बन्धी अवरोधहरू हटाउन एक अर्काको प्रयोगशाला प्रमाणीकरणको मान्यताका लागि आपसी मान्यता सम्झौतामा हस्ताक्षर गर्ने मार्गसमेत प्रशस्त गरेको छ ।

नेपाल र बंगलादेशले सम्बन्धित देशहरूमा प्राथमिक बजार पहुँच पु¥याउने उत्पादनहरूको सूचीलाई अन्तिम रूप दिइसकेका छन् । नेपालले ५०० बंगलादेशी सामानको लागि प्राथमिक बजार पहुँच प्रदान गर्न सहमति जनाएको छ भने, बंगलादेशले १०८ नेपाली सामानलाई यस्तै अवसर प्रदान गर्न सहमति जनाएको छ । बजार पहुँचका लागि सामानहरूको सूची पहिले नै तयार भइसकेको छ र कार्यान्वयन मोडलिटी प्रभावकारी रुपले लागु हुनु पर्ने जरुरी छ ।

बंगलादेश सरकारले बंगलादेशको मंगलापोर्ट जोड्ने जमुना पुलको अवस्था सुधार गर्दैछ । भारत सरकार फूलबारी–बंगलाबन्द करिडोरमा सवारी साधनको आवागमनमा सहमति जनाएपछि, दुवै देशहरू भविष्यमा व्यापारको मात्रा विस्तार गर्दै भूमि भन्सार सुविधामा सुधार गर्न सहमत भै तदनुसार कार्य भइरहेको छ ।

फेरि, दुवै देशहरू सिंहाबाद (भारत) (रोहानपुर (बंगलादेश) रेल यातायात सुविधा (भारतले प्रदान गरेको) सञ्चालनमा ल्याउन सहमत भएका छन् । रोहनपुर–सिंघाबाद ट्रान्जिट बाहेक, नेपालले बंगलादेशलाई राधिकापुर (भारत) (बिरोल (बंगलादेश) रेल लाईनलाई ब्रड गेजमा रूपान्तरण गर्न आग्रह गरेको छ । यसको जवाफमा बंगलादेशले ब्रो ‘डगेज रेलवे लाइनलाई रूपान्तरण गर्ने कार्यलाई तीव्र पारिएको जानकारी दिएको छ । काठमाडौं–ढाका बस सेवा पनि वार्ताको एजेन्डामा समाहित भएको थियो । यद्यपि, यो पहिले नै बिबीआइएन (बंगलादेश–भुटान–भारत–नेपाल) मोटर सवारी सम्झौताको अन्तर्गत छलफल भइरहेको छ ।

बंगलादेश संयुक्त लगानीको आधारमा नेपालको पूर्वी भागमा जलविद्युत परियोजनाहरू विकास गर्न उत्सुक छ । बंगलादेशका परराष्ट्र मन्त्रीले कोशी उच्च बाँध परियोजनाबाट १,००० मेगावाट बिजुली आयात गर्न चाहेको कुरा दोहो¥याएका थिए । यो बैठकले जलविद्युत् क्षेत्रमा थप सहयोगका लागि दुई देशको जलविद्युतको विकास, स्थिति र मागलाई बुझ्न सहयोग पु¥याएको छ । बंगलादेशले भारत, भुटान र नेपाललगायत प्रत्येक देशबाट संयुक्त कार्य समूह (जेडब्ल्यूजी) गठन गर्ने प्रस्ताव र कार्यान्वयन तर्फ कार्य गरेको छ । जलविद्युतमा संयुक्त उद्यमको सम्भाव्यताहरूलाई छुट्याउन र आपसी फाइदाका लागि यस क्षेत्रको जलस्रोतको अन्वेषण गर्न समेत यो आवश्यक र अनिवार्य हुने अपेक्षा गर्न सकिन्छ ।

प्रतिक्रिया दिनुहोस्