काठमाडौं । ‘बैंक पनि साथी पनि, राम्रो पनि हाम्रो पनि’ भन्ने मूल नाराका साथ लाखौं ग्राहक महानुभावहरुमाझ गतिशील बैंकिङको अभ्यास गर्दै आएको यस एन आई सी एशिया बैंकको जुनसुकै शाखामार्फत कर्मचारी सञ्चय कोषका ऋणीहरूले साँवा ब्याजसहितको किस्ता रकम भुक्तानी गर्न सक्ने भएका छन् । यस सुविधामार्फत कोषबाट लिइएका विशेष सापटी, घर सापटी, शैक्षिक सापटी, सरलचक्र र घरमर्मत सापटी कर्जाहरूको भुक्तानी यस बैंकका शाखाबाट सहज रुपमा गर्न सकिनेछ ।
कोषका ऋणीहरूले आफुलाई पायक पर्ने यस बैंकको शाखा पुगी ‘कर्मचारी सञ्चय कोष कर्जा चुक्ता भौचर’ मा आफुले भुक्तानी गर्न लागेको कर्जाको प्रकारमा चिन्ह लगाई यस बैंकमा रहेको खातामार्फत ऋण भुक्तानी गर्न आवेदन दिए अनुसार बैंकका कर्मचारीले कर्मचारी सञ्चय कोषलाई भुक्तानी गर्ने व्यवस्था रहेको छ । बैंकले यस अघि नै नेपाल क्लियरिङ हाउस लिमिटेडसँगको सहकार्यमा कर्मचारी सञ्चय कोषबाट कर्जा सुविधा लिईरहनुभएका ऋणीहरूलाई सुविधाको निमित्त वहाँहरूले उपभोग गर्नुभएको कर्जा बमोजिमको किस्ता रकम कनेक्ट आइपिएसको एप तथा वेबसाइटबाट भुक्तानी गर्न मिल्ने सुविधा ल्याइसकेको छ ।
बैंकलाई आम जनमानसले गरेको प्रगाढ विश्वास, अगाध स्नेह र बैंकप्रतिको भरोसाले गर्दा यो बैंक मुलुकभर रहेका ३३३ शाखा कार्यालयहरू, ४७० एटिएम, ९६ वटा एक्स्टेन्सन काउण्टर एवं ७४ वटा शाखा रहित बैंकिङमार्फत् बैंकिङ सेवा प्रदान गर्ने मुलुककै सबैभन्दा ठूलो शाखा सञ्जाल भएको बैंक हुन पुगेको छ । २२ लाख भन्दा बढी ग्राहक महानुभावहरूका साथ सञ्चालनमा रहेको यस बैंकका प्रमुख वित्तीय परिसूचकहरू अत्यन्त उत्साहप्रद रहेका छन् ।
उत्तरदायी बंैकिङको अभ्यास गर्दै आएको यस बैंकले प्रत्यक्ष र अप्रत्यक्ष गरी गत आर्थिक वर्षमा करिब रू.२ अर्ब ६५ करोड भन्दा बढी राजश्व नेपाल सरकारलाई भुक्तानी गरिसकेको छ भने वित्तीय समावेशीकरणका लागि मुगु, कालिकोट, बझाङ, रूकुम, जुम्ला, सल्यान जस्ता बैंक तथा वित्तीय संस्थाहरूको उपस्थिति न्यून रहेका दुर्गम जिल्लाहरूमा तथा कुनै पनि बैंक तथा वित्तीय संस्थाहरू नपुगेको ३४ भन्दा बढी स्थानीय निकायहरूमा शाखा विस्तार गरी सञ्चालन गर्दै आइरहेको छ ।