काठमाडौं, २९ मंसिर ।
प्रधानमन्त्री केपी शर्मा ओलीले मंगलबार संवैधानिक परिषद्को बैठक बोलाएका छन् । आइतबार स्थगित भएको बैठक मंगलबार बस्न लागेको छ । यसपटको बैठकमा जसरी पनि नियुक्ति गर्ने ओलीको तयारी छ ।
पार्टीमा विवाद चर्किएका बेला ओलीले अख्तियार दुरुपयोग अनुसन्धान आयोग लगायत निकायमा नियुक्ति गर्न लागेका हुन् । हाल ४५ वटा संवैधानिक पद रिक्त छन् ।
प्रचण्ड र माधव नेपाल पक्षसँग छलफल नै नगरी ओलीले संवैधानिक निकायमा नियुक्ति गर्न लागेका हुन् । जसले पार्टीभित्रको विवाद झनै बढाउने जोखिम छ । कांग्रेसँग भागबन्डा गरी नियुक्ति गर्ने ओलीको तयारी छ । अख्तियारको प्रमुख आयुक्तमा पूर्व सचिव प्रेम कुमार राईलाई नियुक्त गर्ने ओलीको तयारी छ ।
प्रधानमन्त्री अध्यक्ष हुने संवैधानिक परिषद्मा प्रमुख प्रतिपक्षी दलको नेता, सभामुख, राष्ट्रिय सभाका अध्यक्ष र प्रधानन्यायधीश सदस्य छ । प्रतिनिधिसभाको उपसभामुख पनि सदस्य हुने भएपनि सो पद रिक्त छ ।
देउवासँग कुरा मिलेमा पनि ओलीलाई नियुक्तिको निर्णय गर्न समस्या हुनसक्छ । सभामुख प्रचण्ड पक्षका छन् । प्रधानन्यायाधीशको सहमति भएमा नियुक्ति हुने सम्भावना छ ।