काठमाडौं, ३० मंसिर । मुलुकको बैंकिङ प्रणालीमा पछिल्लो दिनमा अधिक नगद तरलता देखिएको छ । बाह्रैमास नगद तरलताको पिरलो हुने नेपालका बैंक तथा वित्तीय संस्थाहरूलाई यतिखेर कर्जामा आएको सङ्कुचनले अप्ठेरोमा पारेको छ । यो सातासम्म आइपुग्दा बजारमा १ खर्ब २० अर्ब रूपैयाँ अधिक तरलता देखिएको हो । राष्ट्र बैंकले तोकेको अनिवार्य मौज्दातको व्यवस्था बाहेकको उक्त रकमले बैंकहरूलाई कर्जा प्रवाहमा थप चाप परेको देखिन्छ । तर, कोरोना महामारीका कारण औद्योगिक व्यवसाय र आर्थिक कारोबारमा आएका शिथिलताले अपेक्षित रूपमा कर्जा बढ्न नसकेको हो ।
अधिक नगद तरलतालाई रोक्न यसबीचमा नेपाल राष्ट्र बैंकले बजारबाट ७१ अर्बभन्दा बढी रकम खिँचेको छ । तर यो रकम फेरी एक महिनापछि बैंक तथा वित्तीय संस्थामा नै जानेछ । किनभने राष्ट्र बैंकले खिचेको रकम चार साताको लागि मात्र हो । त्यसपछि अहिलेको भन्दा बढी तरलता देखिनेमा कुनै शंका छैन ।
चालु आर्थिक वर्षको अघिल्लो तीन महिनामा कुल आन्तरिक कर्जा मुश्किलले २.८ प्रतिशतको दरले बढेको छ । अघिल्लो वर्षको सोही अवधिमा उक्त कर्जा २.२ प्रतिशत वृद्धि भएको थियो । सोही अवधिमा बैंक तथा वित्तीय संस्थाको निक्षेप भने ४.९ प्रतिशतले बढेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो निक्षेप ३ प्रतिशत बढेको थियो । वार्षिक विन्दुगत आधारमा गत असोज मसान्तमा बैंक तथा वित्तीय संस्थाको निक्षेप झण्डै २१ प्रतिशतले बढेको देखिन्छ ।