Logo
Logo

सगरमाथाको थप उचाइले बढाएको नेपालको गौरव


- कृष्णमणि पराजुली

441
Shares

  • कृष्णमणि पराजुली

दक्षिण एशियामा अवस्थित नेपाल एक भूपरिवेष्ठित सानो देश हो । दुई ठूला छिमेकी देश भारत र चीनको बीचमा रहेको हुँदा यस देशको आफ्नै महत्व रहेको छ । सानो देश भए पनि विभिन्न अद्वितीय आकर्षणले गर्दा नेपालले विश्वको नै ध्यान केन्द्रित गर्न सकेको छ । यसको क्षेत्रफल जम्मा १,१७,१४१ वर्ग किमी मात्र छ । यसको लम्बाइ ८८५ किमी र चौडाइ १९३ किमी छ । विश्व भूभागको ०.०३ प्रतिशत छ भने एशियाको .३ प्रतिशत मात्र छ ।

यो भौगोलिक अवस्थितिलाई मात्र अध्ययन गर्दा नेपाल केही पनि होइन जस्तो देखिन्छ । हुन पनि हो । यति कुराले मात्र विश्वमा नेपालको कुनै महत्व राख्दैन । तर, सानो देश भए पनि यसको अवस्थिति, प्राकृतिक सम्पदा, प्राकृतिक धरोहर, सांस्कृतिक, धार्मिक सम्पादा, शान्तिका दूत गौतमबुद्घ, विश्वको सर्वोच्च उच्च सगरमाथाजस्ता विशेषताहरुले नेपाललाई विश्वसँग परिचित गराउन सकेको छ ।

यो सानो आलेखमा नेपालजस्तो सानो देशमा पाइने विभिन्न किसिमका हावापानी, प्राकृतिक छटा, प्राकृतिक सम्पदा, मानिसहरुको चालचलन, वेषभूषा, रीतिरिवाज, चाडपर्व, जातजातिबारे प्रकाश पार्न सम्भव नहुने हुँदा यहाँ विश्वको सर्वोच्च शिखर सगरमाथा र यसको हालै मापन गरिएको ८८४८.८६ मिटरको उचाइबारेमा केही उल्लेख गरिएको छ ।

हामीले केवल शिखर चढ्ने आरोहीबाट रोयल्टी मात्र आर्जन गर्ने होइन । अन्य धेरै क्षेत्रको विकासबाट प्रशस्त आम्दानी गर्ने वातावरण निर्माण गर्न सक्दछौँ । जसरी चीनले हिउँबाट पानी प्रशोधन गरेर बेच्ने गरेको छ, त्यसैगरी नेपालले पनि विश्वको सर्वोच्च चुचुरो सगरमाथाको पानी अन्तर्राष्ट्रिय जगतमा बिक्री गर्न सक्ने छ । कहिले पनि दोहन गरेर नसकिने सगरमाथाको पानी बेचेर समृद्ध नेपाल बनाउन सकिने सम्भावना पनि त्यतिकै प्रवल देखिन्छ । सगरमाथाको आधार शिविरसम्म विभिन्न पूर्वाधारहरुको विकास गर्नु पर्दछ । आरोहीबाट रोयल्टी मात्र उठाएर केही हुने देखिँदैन ।

सन् १९५४ मा भारतकोे सर्भे अफ इण्डियाले मापन गरेको सर्वोच्च चुचुरोको उचाइ ८८४८ मिटर मात्र थियो । नेपालले आफूले मापन नगरेको हुँदा यसैलाई आधिकारिकरूपमा मान्यता दिँदै आएको थियो । अहिले नयाँ मापनअनुसार ०.८६ मिटर उचाइ वृद्धि भई ८८४८.८६ मिटर कायम भएको छ । विश्वमा भएका ८००० मिटरभन्दा अग्ला चुचुरा १४मध्ये नेपालमा मात्र आठवटा पर्दछन् । त्यसमा पनि धेरैजसो त सगरमाथाको उचाइको हाराहारीमा छन् । यस कारणले गर्दा पनि नेपाल विश्व इतिहासमा परिचित हुन सहज भएको छ ।

सगरमाथाकै कुरा गर्दा यो सोलुखुम्बु जिल्लामा पर्दछ । यसको सर्वप्रथम आरोहण सन् १९५३ को मे २९ मा नेपालका तेन्जिङनोर्गे शेर्पा र न्यूजील्याण्डका एडमण्ड हिलारीले संयुक्तरुपमा सफल आरोहण गरेका थिए । यो खबरले विश्वमा निकै चर्चा पायो । त्यसपछि मात्र नेपाल, नेपाली र विश्वको सर्वोच्च टाकुरो बारे प्रचारप्रसार हुन थाल्यो । यो सम्पूर्ण नेपालीको लागि गौरवको विषय हुनु स्वभाविकै थियो ।

सन् १९५६ भन्दा अघि सगरमाथालाई विभिन्न नामबाट परिचित गराइएको हुन्थ्यो । सन् १९५६ मा इतिहास शिरोमणि बाबुराम आचार्यले यसको नेपाली नामाकरण ‘सगरमाथा’ राखेका थिए । यसैलाई सरकारले मान्यता दिएको थियो र हालसम्म पनि यही नै प्रचलनमा रहिआएको छ । सन् १८४९ मा बेलायतको सर्भेएर जर्ज एभरेष्टले प्रथमपटक सर्भे गरेको हुँदा उनको नामबाट माउण्ट एभरेष्ट भनेर अंग्रेजीमा भनिदै आइएको पनि छ । विश्वको सर्वाेच्च शिखर नेपालमा पर्छ भनेर प्रमाणित गर्र्नेे पनि उनी नै थिए ।

सर्वोच्च शिखरलाई नेपालीमा सगरमाथा भनिए पनि अन्य भाषामा भने फरक–फरक नामाकरण भएको पाइन्छ । चिनियाँ भाषामा झ्यामोलोङ्मो, अंग्रेजीमा माउण्ट एभरेष्ट र तिब्बती भाषामा चोमोलोङमा भनिने गरिन्छ । विश्वमा नै यो शिखरलाई प्रथमपटक आरोहण गर्ने महिला जापानकी जुन्को तावेइ हुन् भने नेपालकी पासाङल्हामु शेर्पा हुन् । पासाङल्ह्मु शेर्पाले नेपाललाई विश्व मानचित्रमा चिनाउन सफल हुनुको साथै नेपालको गौरव बढाउने कार्यसमेत गरेकी थिइन् ।

यसै सन्दर्भमा सगरमाथाको उचाइबारे विभिन्न विचार आउन थाले । कसैले सगरमाथाको उचाइ घट्दै गएको छ भन्न थाले भने कसैले बढ्दै गएको विचार राखे । यसतो अनिश्चितता राखिरहनु उपयुक्त नहुने कुरा नेपाल सरकारले महसुस गर्यो र यसको उचाइ मापन गर्ने सम्बन्धमा अध्ययन, अनुसन्धान, गोष्ठी , प्रशिक्षण पनि सञ्चालनमा ल्यायो । जसको कारणबाट सगरमाथाको उचाइ मापन गर्ने कार्यले तीव्रता पाउँदै आयो ।

खास गरेर उत्तरपट्टिको हिमाली तिब्बतीय प्लेटलाई भारततर्फको युरेसियन प्लेटले धकेल्दै जाँदा सगरमाथाको उचाइ बढेको हो भन्ने कुरा अहिले आएर पुष्टि भएको छ । त्यसो हो भने किन त ०.८६ मिटर मात्र बढ्यो त भन्ने प्रश्न पनि उब्जिएको छ । यसमा उत्तरपट्टिको प्लेट ठूलो र बलियो भएको र भारततर्फको प्लेट अलि कमजोर भएको हुँदा यसले त्यति धकेल्न सकेन र परिणामस्वरुप सगरमाथा माथि उठ्न सकेन भन्ने विचार पनि अहिलेको अवस्थामा उपयुक्त नै देखिन्छ । २०७२ सालमा आएको भूकम्पको धक्काले पनि सगरमाथाको उचाइ बढ्न गएको हो भन्ने कुरा पनि अध्ययनबाट देखिन आएको छ । यी विचारको अतिरिक्त विश्वको सर्वाेच्च उचाइ मापन गर्न विभिन्न अन्तर्राष्ट्रिय अनुसन्धान संघसंस्थाहरु पनि लागिपरे । छिमेकी देश चीन र भारतले पनि उचाइ मापन गरेका थिए । त्यसैगरी बेलायत, इटाली, अमेरिका र डेनमार्कले पनि मापन गरेका थिए । तर, तिनीहरुको उचाइ मापन एउटै थिएन । फरक–फरक भएको हुँदा कसको मापनलाई विश्वास गर्ने भन्ने कुरामा समस्या देखापर्यो । यसको निराकरण गर्नको लागि नेपालले आफ्नै देशको सर्वोच्च शिखरको मापन आफैँले गर्नुपर्ने आवश्यकता महसुश गर्यो ।

नेपालले आफ्नै स्रोत, साधन र जनशक्ति प्रयोग गरी हिमशिखर मापन गर्ने कार्य सम्पन्न गर्यो । यसले नेपालको प्राविधिक क्षमताको उच्च दक्षता भएको प्रतीत हुन्छ । अहिलेसम्म भारतीय सर्भे अफ इण्डियाले गरेको मापनलाई आधार मानी आएकोमा यो मापन नेपालको इतिहासमा एउटा कोशेढुंगाको रुपमा लिन सकिन्छ । नेपालले मापन गरिसकेपछि चीनले पनि छुट्टै मापन गरी आएको थियो । दुवैतर्फका प्राविधिकहरुले मापन गरी निकालेका तथ्यांकहरुको संयुक्तरूपमा विश्लेषण गर्दा एउटै उचाइ अर्थात् ०.८६ मिटर बढेको पाइएकोले यसको विश्वसनीयताप्रति शंका गर्नुपर्ने कुनै कारण देखिँदैन ।

सगरमाथाको उचाइ मापन कार्यले नेपाली जनतामा एक प्रकारको खुशी छाएको छ । विभिन्न अध्ययनकर्ता एबं अन्वेषकहरुले फरक–फरक उचाइ निकालेको अस्थामा अब एउटै मात्र आधिकारिक उचाइ ८८४८.८६ मिटर भएको छ । यसलाई नेपाल तथा चिनियाँ सरकारका परराष्ट्रमन्त्रीहरुले आ–आफ्ना देशका राष्ट्रपतिको सन्देश पढेर भर्चुअल माध्यमबाट २०७७ मंसिर २३ गते घोषणा गरेका थिए ।

यसअघि नेपालले गर्न नसकेको कार्य गरेको हुँदा नेपाली जनता गौरबान्वित हुनु स्वभाविकै हो । यस कार्यले विश्वमा नै नेपाललाई चिनाउन सकेको छ । यो मापन कार्य विश्वले नै मानी आएको ग्लोबल न्याभिगेशन स्याटेलाइट सिस्टमबाट मापन गरिएको हुँदा अन्तर्राष्ट्रिय जगत विश्वस्त हुनु स्वभाविकै हो ।

अहिलेसम्म भएका भ्रमहरुलाई यस मापन कार्यले निवारण गरी तथ्य कुरालाई सार्वजनिक गरेको हुँदा अन्तर्राष्ट्रिय जगत पनि यसबाट लाभान्वित हुनेछ । नेपालले केही समयअघि मात्र जारी गरेको नेपालको नयाँ नक्शा, हालै मापन गरिएको सगरमाथाको नयाँ उचाइ, शान्तिका दूत गौतमबुद्घको जन्मजस्ता कुराले बढाएको गौरव राष्ट्रिय दृष्टिकोणबाट नेपालको इतिहासमा सुनौला अक्षरमा रहिरहने छन् ।

निश्चय नै यी महत्वपूर्ण कार्यले नेपालको इतिहासमा नयाँ इँटा थपिएको छ । भविष्यमा पर्यटन क्षेत्रमा ठूलो प्रगति हुनेछ । हामीले केवल शिखर चढ्ने आरोहीबाट रोयल्टी मात्र आर्जन गर्ने होइन । अन्य धेरै क्षेत्रको विकासबाट प्रशस्त आम्दानी गर्ने वातावरण निर्माण गर्न सक्दछौँ । जसरी चीनले हिउँबाट पानी प्रशोधन गरेर बेच्ने गरेको छ, त्यसैगरी नेपालले पनि विश्वको सर्वोच्च चुचुरो सगरमाथाको पानी अन्तर्राष्ट्रिय जगतमा बिक्री गर्न सक्ने छ । कहिले पनि दोहन गरेर नसकिने सगरमाथाको पानी बेचेर समृद्ध नेपाल बनाउन सकिने सम्भावना पनि त्यतिकै प्रवल देखिन्छ । सगरमाथाको आधार शिविरसम्म विभिन्न पूर्वाधारहरुको विकास गर्नु पर्दछ । आरोहीबाट रोयल्टी मात्र उठाएर केही हुने देखिँदैन । अहिले नेपालले अपेक्षित फाइदा लिनसकेको छैन । यसको लागि धेरै काम गर्न बाँकी छन् ।

यी सम्भावनाहरुलाई साकार रूप दिन नेपालले सामना गर्नुपर्ने चुनौती पनि धेरै नै देखिन्छन् । खासगरी खस्कँदै गएको पर्यावरणको रक्षा गर्नुपर्ने एकातिर छ भने अर्कोतिर जलवायु परिवर्तनको असरलाई रोक्न सकिएन भने खानेपानी तथा विपद् व्यवस्थापनका समस्या पनि त्यतिकै कठिन हुनेछन् । सगरमाथाको आसपासमा बढ्दै गएको फोहरको थुप्रो पनि चिन्ताको विषय बन्दै गएको छ ।

(लेखक : नेपाल सरकारका पूर्वउपसचिव हुन्)

 

प्रतिक्रिया दिनुहोस्