काठमाडौं, ३० मंसिर । लामो समयपछि नेपालको बैंकिङ क्षेत्रमा अनियमितताकाण्ड बाहिर आएको छ । महालक्ष्मी विकास बैंकमा कर्मचारीकै मिलेमतोमा लाखौं ठगी भएको छ ।
प्रहरीले तीनजनालाई पक्राउ गरी अनुसन्धान अघि बढाएको छ । कर्जा अपचलनसम्बन्धी बैंकिङ कसुरमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले सन्दीप लिम्बू, पूर्ण राई र देवेन्द्र राईलाई पक्राउ गरेको हो । बैंकको कुमारीपाटी शाखामा सुन धितो राखेर कर्जा प्रवाह गर्दा अनियमितता गरेको आरोपमा उनीहरू पक्राउ परेका हुन् । यसमा बैंकका शाखा प्रबन्धकसम्मको मिलेमतो पुष्टि भइसकेको छ ।
कमसल सुन धितो राखी अत्यधिक मूल्यांकन गराई कर्जा लिएर नतिरी ठगी भएको हो । यसमा ऋणीका साथै बैंकका कर्जा शाखाका कर्मचारी तथा सुनजाँचकीको मिलेमतो देखिएको छ । तर, बैंकका सुच जाँचकी फरार भइसकेका छन् । जसकारण अनुसन्धानमा माथिल्लो तहलाई तान्न प्रहरीलाई समस्या भएको छ ।
कर्जा नतिरेपछि बैंकले धितो राखेको सुन बेच्न लागेको थियो । तर, कर्जा लिएको वेलाभन्दा सुनको भाउ ४० प्रतिशत वृद्धि हुँदा पनि धितोबाट कर्जा उठ्ने अवस्था नभएपछि घटना प्रहरीमा पुगेको हो ।
चलखेलमा संलग्न सञ्चालकहरु समेत भएकाले महालक्ष्मी विकास बैंकको व्यवस्थापन समेत खस्किदै गएको छ । यसअघि बैंकले मेनपावर व्यवसायी हेम गुरुङलाई बालुवाटारको सरकारी जग्गा धितो राखेर कर्जा दिएको थियो । जसमा बैंकको करोडौं गुम्ने भएको छ ।