काठमाडौं, ३० मंसिर ।
सभामुख अग्निप्रसाद सापकोटा अनुपस्थित भएपछि संवैधानिक परिषद्को बैठक स्थगित भएको छ । प्रमुख प्रतिपक्षी दलका नेता शेरबहादुर देउवा उपस्थित भएपछि बैठक सुरु भएपनि गणपुरक संख्या नपुगेको हो ।
संवैधानिक परिषद् ऐनमा अध्यक्ष र कम्तीमा चार सदस्य बैठकमा उपस्थित भएमा गणपुरक संख्या पुग्ने उल्लेख गरिएको छ । गणपुरक संख्या पुगेको अवस्थामा मात्र बहुमतबाट नियुक्तिको निर्णय हुनसक्छ । जसकारण सभामुख उपस्थित नभएको अवस्थामा नियुक्तिका लागि निर्णय गर्न सक्ने अवस्था थिएन । मंगलबारको बैठकमा अध्यक्ष र तीन सदस्य मात्र सहभागी थिए । ओलीले प्रचण्ड र माधव नेपाल पक्षसँग छलफल नै नगरी संवैधानिक निकायमा नियुक्ति गर्न लागेपछि सभामुख सापकोटा अनुपस्थित भएका हुन् ।
परिषद्का अध्यक्ष रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले देउवासँग मिलेर अख्तियार दुरुपयोग अनुसन्धान आयोग लगायत निकायमा नियुक्ति गर्न लागेका थिए ।
बैठकमा ओली, देउवा, राष्ट्रियसभाका अध्यक्ष गणेश तिमल्सिना र प्रधानन्यायधीश चोलेन्द्रशमशेर राणा उपस्थित थिए ।