काठमाडौं, ३० मंसिर ।
संवैधानिक परिषद्को बैठक स्थगित भएलगत्तै प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद्को बैठक बोलाएका छन् । सामान्यतया सोमबार र बिहीबार बैठक बस्नेमा उनले मंगलबार बैठक बोलाएका छन् ।
केही मन्त्रीले अध्यादेशका लागि बैठक बोलाइएको आशंका गरेका छन् । संवैधानिक परिषद्सम्बन्धि ऐन संशोधन गर्न अध्यादेश ल्याउन लागिएको आकलन गरिएको छ ।
गणपुरक संख्या नपुगेपछि मंगलबारको बैठक स्थगित भएको थियो । सभामुख अग्निप्रसाद सापकोटा बैठकमा उपस्थित नभएपछि बैठक स्थगित भएको हो । जसअनुसार प्रचण्ड र माधव नेपाल पक्षसँग सहमति नगरी नियुक्ति हुनसक्ने अवस्था छैन । जसकारण अध्यादेशमार्फत ऐन संशोधन गरी गणपुरक संख्यासम्बन्धि प्रावधान हेरफेर गर्न लागिएको आशंका गरिएको छ ।
संवैधानिक परिषद्मा अध्यक्षसहित ६ सदस्य हुन्छन् । हाल उपसभामुख अनुपस्थित भएकाले पाँच मात्र छन् । अध्यक्ष र चार सदस्य उपस्थित भएमात्र गणपुरक संख्या पुग्ने प्रावधान छ । जसअनुसार हालको अवस्थामा नियुक्ति गर्न सबै जना उपस्थित हुन जरुरी छ ।
यसअघि पनि ओलीले यसैगरी ऐन संशोधन गरेका थिए । त्यतीबेला देउवा अनुपस्थित भएपनि संशोधन गरिएको थियो । व्यापक विरोध भएपछि जून खारेज गरिएको थियो ।