काठमाडौं, २ पुस ।
प्रधानमन्त्री केपी शर्मा ओलीले बिहीबारका लागि बोलाइएको संवैधानिक परिषद्को बैठक स्थगित भयो । बुधबार अध्यादेश नै फिर्ता लिने सहमति भएकोमा प्रधानमन्त्री ओलीले फेरि बैठक बोलाएपछि धेरै अनौठो माने । तर, उनले बैठक स्थगित गरे ।
बैठक बोलाएको थाहा पाएपछि नेकपा अध्यक्ष प्रचण्ड ओलीलाई भेट्न बालुवाटार गएका थिए । प्रचण्डले पनि ओलीलाई सहमति विपरीत नजान चेतावनी दिएका थिए ।
त्यस्तै, संवैधानिक परिषद्का सदस्य रहेका प्रधानन्यायधीश चोलेन्द्रशमशेर राणाले पनि ओलीलाई असहयोग गरेको स्रोत बताउँछ । अध्यादेशबाट गणपुरक संख्यासम्बन्धि प्रावधान घटाएर एकलौटी रुपमा ओलीले विभिन्न निकायमा नियुक्तिको तयारी गरेका थिए । त्यसविरुद्ध सर्वाेच्चमा समेत रिट परेको थियो ।
आफु समेत विवादमा पर्ने देखिएपछि राणाले बैठकमा उपस्थित हुन अनिच्छा देखाएको स्रोत बताउँछ । जसकारण ओली बैठक स्थगित गर्न बाध्य भएका थिए ।
अध्यादेश ल्याएपछि प्रमुख प्रतिपक्षी दलका नेता शेरबहादुर देउवा पनि बैठकमा नजाने निर्णय गरिकसेका छन् । सभामुख अग्नि सापकोटा पनि गएका छैनन् । राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सनाले मात्र ओलीलाई साथ दिएका छन् ।