Logo
Logo

राष्ट्रिय वाणिज्य बैंक र युवा परिषद्बीच सम्झौता


- दृष्टि न्युज/संवाददाता

0
Shares

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक लिमिटेड र राष्ट्रिय युवा परिषद्बीच बिहीबार एक कार्यक्रमका बीच काठमाडौंमा सम्झौता भएको छ । युवालाई उद्यमशीलताको मार्गदर्शन गराई उद्यमशीलताको विकास र वित्तीय साक्षरताको तालिम कार्यक्रम सञ्चालन गर्ने सम्बन्धमा दुई संस्थाबीच सम्झौता भएको हो । सम्झौतापत्रमा बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठ र राष्ट्रिय युवा परिषद्का कार्यकारी उपाध्यक्ष माधवप्रसाद ढुंगेलले हस्ताक्षर गरेका हुन् ।

सम्झौतापछि राष्ट्रिय युवा परिषद्ले प्रत्येक प्रदेशका पांँचवटा पालिकास्तमा जम्मा ३५ समूहमा १६ देखि ४० वर्षसम्मका युवाहरुलाई उद्यमशीलता विकासका लागि उद्यमशीलता विकास र वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गरी तालिम प्राप्त व्यक्तिलाई कर्जाको लागि बैंकमा सिफारिस गर्ने छ भने सोहीे उद्यमीहरुलाई बैंकले नियमानुसार सहुलियपूर्ण कर्जाअन्तर्गत कर्जा लगानी गर्ने छ ।

समारोहमा बैंंकका प्रमुख कार्यकारी अधिकृत श्रेष्ठले उद्यमी बन्न चाहने युवा र बैंकबीचको खाडल यो सम्झौतापछि हट्ने बताउँदै लाखौं युवाहरु उत्पादनसँग जोडिई स्वारोजगार बन्ने बताए । राष्ट्रिय युवा परिषद्का उपाध्यक्ष ढुगेलले यो तालिमले युवालाई व्यवसाय र सीप विकासको ज्ञान दिने हुँदा बैंकको कर्जा दुरुपयोग हुने जोखिम घट्ने बताए । उक्त कार्यक्रममा बैंकका उपकार्यकारी अधिकृत देवेन्द्ररमण खनाल तथा राष्ट्रिय युवा परिषद्का उपसचिव कमला ज्ञवालीले युवाहरुलाई यो कर्जाले उद्यमशीलताको विकास गर्न सहयोग पुग्ने बताए ।

कार्यक्रममा परिषद्का प्रशासकीय प्रमुख डा. बाबुराम ढुंगाना, बैंकका उपकार्यकारी अधिकृतद्धय सरस्वती अधिकारी, देवेशप्रसाद लोहनी, विभागीय प्रमुखहरु सरोज बस्नेत, राज्य लक्ष्मी खड्गी, युवा उद्यमी सञ्जालका संयोजक लोचन बस्नेत, कर्मचारीलगायतको उपस्थिति थियो ।

प्रतिक्रिया दिनुहोस्