Logo
Logo

पद जोगाउन संसद् विघटन


- दृष्टि न्युज/संवाददाता

2.3k
Shares

काठमाडौं, ७ पुस । प्रधानमन्त्री केपी शर्मा ओलीले हिजो राष्ट्रका नाममा दिएको सन्देशमा संसद् विघटन गर्नुपर्ने कारण आफूमाथि अविश्वासको प्रस्तावको तयारी हो भन्ने कुरा आफैँले स्वीकारेका छन् । सम्बोधन भाषणमा प्रधानमन्त्रीले ओलीले भनेका छन्– ‘प्रधानमन्त्रीविरुद्ध अविश्वास प्रस्तावको तयारीलाई अगाडि बढाउनु, पार्टी अध्यक्ष एवं संसदीय दलका नेतालाई थाहै नदिई संसद अधिवेशन बोलाउन हस्ताक्षर सङ्कलन गर्नु, संविधानविपरीत पार्टी, प्रणाली र पद्धतिमाथि नै गंभीर आघात पु¥याउनु हो । यसपछि नै पार्टीभित्रको अवस्था निकै गंभीर र सङ्कटपूर्ण बन्न पुगेको हो ।’

त्यसैले ओलीको सम्बोधन भाषणको पृष्ठभूमिमा जे जस्तो कुरा भनिए पनि अन्ततः प्रधानमन्त्री पद छाड्नुपर्ला भनेरै संसद् विघटन गरिएको छर्लङ्ग भयो । पुस ४ गते शनिबारसम्म प्रधानमन्त्री ओलीले अध्यक्ष पद वामदेव गौतमलाई छाड्ने तयारीमा थिए । यस अगाडि पनि ओलीले अध्यक्ष पद छाड्ने बताइरहेका थिए । तर, उनी आफैँले पटक–पटक बोलेको कुरामा अड्न नसक्दा उनीमाथि सचिवालय सदस्यहरुको विश्वास डगमगाएको थियो । जतिबेला स्थायी कमिटीको बैठकमा एक व्यक्ति एक पदको कुरा उठ्यो, त्यतिबेला उनले अध्यक्ष पद छाडेको भए यो अवस्था आउने थिएन । अध्यक्ष पद छाड्छु पनि भन्ने, ‘अध्यक्ष चाहिएको भए महाधिवेशन कुर्नुस्, प्रधानमन्त्री चाहिएको भए अर्को चुनाव कुर्नुस्’, पनि भन्ने, त्यति मात्र होइन, अब फेरि म अध्यक्ष र प्रधानमन्त्री बन्दिनँ भन्ने जस्ता कुरा गरेर शीर्ष नेताहरुलाई अल्मल्याउन खोजेपछि उनी धरापमा परेका हुन् भन्ने कुरा बुझ्नुपर्छ । पार्टीको रिस संसद् विघटन गरेर पोख्ने कुराले उनी अराजनीति र निरंकुश हुन् भन्ने कुरा जनताले बुझिसकेका छन् ।

प्रधानमन्त्री ओलीले सम्बोधनका क्रममा अगाडि भनेको छन्– ‘अस्ति पुस ४ गते मात्रै पनि मैले पुष्पकमल दहालजीको निवासमै पुगेर उक्त विग्रहकारी आरोप–पत्र फिर्ता लिन, पार्टीमा सहज र स्वस्थ वातावरण सिर्जना गर्न र विशेष महाधिवेशन आयोजना गरेर नेतृत्व हस्तान्तरणका लागि पटक–पटक आग्रह गरेँ । पार्टी एकीकरणको सङ्क्रमणकालीन प्रयोजनका लागि मनोनयनद्वारा गठन भएका र महाधिवेशन सम्पन्न गर्ने मुख्य दायित्व भएका पार्टीका नेतृत्वदायी कमिटीहरुलाई पार्टी विधान र एकीकरणको भावना विपरीत पार्टीलाई मतदानको अवस्थातिर नधकेल्न र कर्तव्यको लिकबाट बाहिर नजान बारम्बार आग्रह गरेँ । तर यस प्रयाशलाई मेरो कमजोरी ठानियो । केही भएको छैन, केही गरिने छैन भन्ने कुरामा अल्मलाउँदै प्रधानमन्त्रीविरुद्ध अविश्वास प्रस्तावको तयारी अगाडि बढाइयो ।’ सम्बोधन भाषणमा बोलेको कुराले ओलीले प्रधानमन्त्री पद जोगाउन संसद् विघटन गरेको हो भन्ने बुझिन्छ ।

प्रतिक्रिया दिनुहोस्