Logo
Logo

मेरो सम्झनामा ती दुई


- बिन्दिया प्रधान

4.4k
Shares

मात्र सम्झनामा छन उनीहरु ।

यतिखेर म उनीहरुप्रतिको त्यो मेरो गहिरो लगाव, श्रद्धाको भावना, आदर्श या सम्मानलाई हुबहु लेख्न सकिरहेकी छैन । दुवैलाई एकै ठाउँमा राखेर भावनात्मक त्यो शब्दचित्र उतार्न सकिरहेकी छैन । जबजब कोलाहल यो परिवेश र शहर अशान्त बन्छ, निरासाका उच्छवासहरु निस्कन थाल्छन् र अस्थिरताका कालो बादल मडारिन थाल्छ अनायासै, म उनीहरुलाई सम्झन पुग्छु ।

कोरोना भाइरस सँगसँगै यतिखेर अन्य धेरै भाइरसहरु सल्बलाएका छन् । संसद् विघटन र त्यसको चौतर्फी विरोधको खबर आइरहेको छ । आन्तरिक कलहको उत्पातले सिर्जना गरेको अव्यवस्थाले शहर परिवेश कोलाहल र अशान्त बनेको छ । देश विकास र जनहितका सवालहरु व्यक्तिगत स्वार्थले ओझेलमा परेका छन् । साधारण मान्छेहरुका दैनिकी भने उस्तै छ । संघर्ष उस्तै छ । संघर्षले किनारा पाउने कुनै लक्षण देखिँदैन । संघर्षले न रोग चिन्छ नत विरोध र समर्थन नै । आफ्नो जसोतसोको दैनिकीमा सत्ताको फोहोरी र यस्ता अशान्त खेलले बाधा पुग्ने हो कि भन्ने मात्र चिन्ता छ उनीहरुलाई ।

बिन्दिया प्रधान

वर्तमानको यो स्वार्थपूर्ण गञ्जागोलमा म जहिले पनि बीचैमा अल्पिएका ती सम्भावनाहरुलाई सम्झिरहन्छु कि उनीहरु दुवै बाँचिरहेका भए यस्तो हुन्थ्यो होला, उस्तो हुन्थ्यो होला । दुवैका ती निःशर्त सम्झौताले दीर्घकालीन रुप लिन पाएको भए अहिलेको यो उग्र शर्तसहितको घीनलाग्दो खेलको बीज उम्रनै पाउँदैन थियो होला । अब त यो स्वार्थको विषवृक्ष झांगिएर, फैलिएर डरलाग्दो रुप लिइसकेको छ । देश लगभग स्वार्थीहरुको खेल मैदान बनिसकेको छ । यस्तोमा म ती दुईलाई सम्झिरहन्छु घरीघरी । तर मात्र सम्झनामा छन् ती दुई ।

यस्तो बेलामा घरीघरी ती दुई आइरहन्छन सम्झनामा ।

सानो बेलामा, शायद कक्षा चार हो वा छ, तिर पढ्दै गर्दा फागुन महिनाको श्रीपञ्चमीमा हामी साथीहरु मिलेर ओखलढुंगाको सरस्वती डाँडामा वनभोज गएका थियौँ । सरस्वती मन्दिरमा पूजा सकिएपछि हामी वनभोजमा दिनभरि रमायौँ । साँझ घरमा पुग्दा आमाले गाली गर्नुभयो ‘अभागीहरु राजा नै देख्न पाएनौँ तिमीहरुले’ भनेर । हाम्रो घरमा राजा अर्थात् तत्कालीन युवराज वीरेन्द्र आउनुभएको रहेछ । पूर्वाञ्चल पैदल भ्रमणका बेला ओखलढुंगा सदरमुकाम बजार पुगेर थकाई मार्न हाम्रो घरमा चिया खाजा खाँदा पहिला कुकुरलाई खान दिएकाले आमालाई शंका लागेर माथि तल्लामा भएको राजपरिवारको फोटो हेर्दा युवराज वीरेन्द्र भनी चिनेर सरकार भनी सम्बोधन गर्दा बाटोमा हिँड्ने यात्रु कहाँ सरकार हुनु भनेछन् ।

राजा भएर पनि कति साधारण कति नरम र हँसिला अनि राजा हुने मान्छेको अनुहारको तेज नै अर्कै हुने भनी आमाले कति दिनसम्म युवराज वीरेन्द्रकै तारिफ मात्र गरिरहनुभएकोले राजालाई देख्न पाइएन भन्ने खल्लोपना बालसुलभ मनमा केही दिनसम्म रहिरह्यो नै ।

बालसुलभ मन मस्तिष्कमा आमाको राजा वर्णन र फोटोमा देखेको उनको शालीन अनि गम्भीर अनुहारले म त्यत्तिकै राजाप्रति भावनात्मक आकर्षण पालेर बसेकी थिएँ । जब कलेज पढ्न काठमाडौँ आइयो, जब राजा वीरेन्द्रको राज्याभिषेकमा हामी पद्मकन्या कलेजका केटीहरु युनिफर्म गेरु साडीमा अन्नपूर्ण होटेल अगाडिको फुटपाथमा लाइन लागेर बसेका थियौँ । त्यो दिन बग्गीमा सवार राजा वीरेन्द्रलाई नजिकबाट भौतिकरुपमै देख्न पाउँदा मेरो मनले भन्यो ‘आमा मैले पनि राजा देख्न पाएँ’ । वीरेन्द्रको त्यो शालीन अनुहारमा राजा देखिन्थ्यो । उनी साँच्चैकै यथार्थ राजा थिए । शालीन, करुणामयी र भद्र । उनी राजा वीरेन्द्र नै थिए जसले जनचाहना र परिस्थितिको मागलाई नकार नगरी थपक्क सम्झौतामा सजिलै बाँधिएका थिए । बिना कुनै ठूलो रक्तपात खोपीको देउता बन्न स्वीकार्ने भद्र राजा वीरेन्द्र नै थिए । एकताका प्रतीक पनि राजा वीरेन्द्र नै थिए ।

त्यसपछि बनाएको राजा राजाजस्तै लागेन । अचम्म लाग्छ अहिले राजा कहाँ छन् र मान्छेहरु कुर्लिएका होलान् ‘राजा आऊ देश बचाऊ’ भनेर । कहाँबाट आउँछन् मरिसकेका राजा ?

म राजावादी होइन । कुनै पनि राजनीतिक दलले भ्रष्टाचार निर्मूल गरी निमुखाहरुको आर्थिक उत्थान गर्छ र कल्याणकारी राज्यको निर्माण गरी व्यक्तिगत स्वार्थमा लिप्त हुँदैनन् भने म त्यही वादी हनेछु । शायद अहिले मलगायत धेरैको सोच यही नै छ । धेरैलाई हेरिसकियो । जबजब सत्ता बाहिर हुन्छन् छुच्चो भोटे कुकुरले झैँ भुक्ने अनि सत्ता पाएपछि भोका सिंहले बल्ल शिकार पाएझैँ चरम आर्थिक अनियमितता गर्न अहिलेसम्म राजावादी या अन्य दलहरु कसैले पनि छाडेका छैनन् । त्यसैले सबै एकै हुन् भनी वाक्क हुँदाको परिस्थिति यस्तो बनेको छ कि न त समर्थन न त विरोध ।

अशान्त यो परिवेशमा त्यो जनआन्दोलनको सम्झनासँगै सम्झनामा उनी नै आउँछन् । उपत्यकाका चोकचोक, टुँडिखेल अनि देशका अन्य भागहरुमा व्यापकरुपमा प्रजातन्त्रका लागि विभिन्न राजनीतिक दलका नेताहरुले भाषण गरिरहेका हुन्थे । जहाँजहाँ उनका भाषणको कार्यक्रम तय हुन्थ्यो त्यहीँ नै मान्छेहरु उर्लिएर उनको भनाइ सुन्न भीडमा घम्साघम्सी गर्दै ठेलिन्थे । साँझतिर अफिसबाट फर्कँदा कैयन पटक देख्थेँ र सुन्थेँ म उनीलाई । बानेश्वर चोकमा उनको गर्बिलो भाषणसँगै हात लहराइरहेको हुन्थ्यो । न त कुनै घमण्ड, न त कुनै बनावटीपन नै । धारा प्रवाहरुपमा नेपालको यथार्थ तस्वीर र इतिहासका छिद्रहरु केलाएर ती विरुद्ध नेपाली जनताको मुक्तिका लागि तयार पारिएका भावी योजना परर्रर्र ओकल्दा उनका प्रत्येक वाक्य पूरा हुन नपाउदै टरर्रर्र तालीहरु पड्किएर माहौल गुञ्जयमान हुन पुग्थ्यो । ती ओजश्वी व्यक्ति स्व मदन भण्डारी थिए ।

राजतन्त्र हटेर प्रजातन्त्र आयो । नयाँ संविधानमा जनताका अधिकारहरु स्थापित भए । राजा संवैधानिक बने । एकताका प्रतीक मात्र । पछि खबरहरु आउन थाले कि राजाले मदन भण्डारीलाई भेट्न चाहेर दरबारमा बोलाए । त्यो ऐतिहासिक भेटपछि राजा र मदन भण्डारी एकअर्कादेखि प्रभावित भएका थिए । नेपाल र नेपाली जनताका लागि मदन भण्डारी प्रतिपादित बहुदलीय जनवादको राजाले तारिफ गरेका थिए । त्यो भेटपछि मदन भण्डारीले राजाको देश र राष्ट्रप्रेमबारे थाहा पाएर उनी पनि राजाप्रति नरम भएका थिए । राजा र मदन भण्डारीले देशको विकास र राजनीतिक स्थायित्वबारे सरसल्लाह पनि गरेका थिए । शान्ति र स्थिरताका लागि यो भेट र सल्लाह निःशर्त थियो । यस्तैयस्तै खबरहरु बाहिर आइरहेका थिए ।

पछि अचानक मोटर दुर्घटनामा मदन भण्डारी र जीवराज आश्रितको मृत्यु भयो । सबैले मान्दै आएका छन् कि यो नियोजित हत्या थियो । तर अहिलेसम्म यो पत्ता नलागी एक रहस्य बनेको छ । अनि दरबारमा राजा वीरेन्द्रसँगै उनका सबै परिवारकै हत्या भयो । दोषी युवराज दीपेन्द्रलाई ठहर्याइयो । तर यो पनि पत्ता नलागी रहस्य नै बनेको छ । कस्तो संयोग थियो यो कि देशलाई परनिर्भरताबाट मुक्त गरेर समुन्नत नेपालको निर्माण गर्न समान सोच बनाएका दुई हस्तीहरुको असामयिक निधन भएको थियो । एउटा असल र समुन्नत सपनाको गला बीचैमा रेटिएको थियो । देशको लागि एउटा स्वार्थरहित सम्भावनाको अचानकै अन्त्य भएको थियो ।

वर्तमानको यो स्वार्थपूर्ण गञ्जागोलमा म जहिले पनि बीचैमा अल्पिएका ती सम्भावनाहरुलाई सम्झिरहन्छु कि उनीहरु दुवै बाँचिरहेका भए यस्तो हुन्थ्यो होला, उस्तो हुन्थ्यो होला । दुवैका ती निःशर्त सम्झौताले दीर्घकालीन रुप लिन पाएको भए अहिलेको यो उग्र शर्तसहितको घीनलाग्दो खेलको बीज उम्रनै पाउँदैन थियो होला । अब त यो स्वार्थको विषवृक्ष झांगिएर, फैलिएर डरलाग्दो रुप लिइसकेको छ । देश लगभग स्वार्थीहरुको खेल मैदान बनिसकेको छ । यस्तोमा म ती दुईलाई सम्झिरहन्छु घरीघरी । तर मात्र सम्झनामा छन् ती दुई ।

प्रतिक्रिया दिनुहोस्