काठमाडौं, ११ पुस ।
प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार १३ औँ पटक मन्त्रिपरिषद् पुर्नगठन तथा विस्तार गर्दा अनुमान नगरिएका नेताहरु समेत समाबेश गरेका छन् । मन्त्रीपरिषद् विस्तारमा पूर्व माओवादीलाई प्राथमिकतामा राखेका ओलीले प्रदेशसभामै चुनाव हारेकालाई समेत मन्त्री बनाएका छन् ।
साथै नेतृ जुली महतो पनि मन्त्रिमण्डलमा परेकी छिन् । यसअघि उनका श्रीमान रघुवीर महासेठलाई भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको जिम्मेवारी दिएका थिए ।
२ चैतमा २०७४ देखि ४ मंसिर २०७६ सम्म २० महिना महासेठ मन्त्री भएका थिए । ओलीले तेह्रौ पटक मन्त्रिपरिषद् पुर्नगठन गर्ने क्रममा महासेठकी श्रीमती जुली महतोलाई स्थान दिएका छन् । श्रीमानलाई मन्त्रीबाट हटाएको १३ महिनापछि ओलीले आफ्नो मन्त्रिपरिषद्मा महासेठकी श्रीमतीलाई फुल मन्त्रीको जिम्मेवारी दिएका हुन् ।
महतो समानुपातिकबाट विघटित प्रतिनिधिसभामा सांसद भएकी थिइन् । गैर(आवासीय नेपाली संघका संस्थापक अध्यक्ष तथा व्यापारी उपेन्द्र महतोकी बहिनीसमेत रहेकी महतोलाई सांसद छनोट गरिएपछि आलोचना भएको थियो । ओलीकै जोडबलमा विघटित प्रतिनिधिसभा सदस्य बनेकी महतोलाई ओलीले मन्त्रीको पुरस्कार दिएका छन् ।