काठमाडौं, ११ पुस ।
कोरोना संक्रमित हुनेको संख्या घटेसँगै संक्रिय संक्रमितको संख्या पनि घट्दै गएको छ । एक महिनायता नयाँ संक्रमित भन्दा निको हुनेको संख्या धेरै भएको छ ।
जसअनुसार हाल संक्रिय संक्रमितको संख्या ६ हजार ७४९ मा झरेको छ । गत असोजमा सक्रिय संक्रमितको ४५ हजारसम्म पुगेको थियो । ६७ सय सक्रिय संक्रमितमध्ये आधार उपत्यकामा छन् ।
पछिल्लो २४ घण्टामा नेपालमा ५ सय जना कोरोना संक्रमित थपिएका छन्। यो सँगै कुल संक्रमितको संख्या २ लाख ५७ हजार ७०० पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
गत २४ घण्टामा ५ हजार ४३४ जनाको पिसिआर परीक्षण गर्दा ५ सय जनामा कोरोना पुष्टि भएको छ। योसँगै नेपालमा पिसिआर परीक्षण हुनेको संख्या १९ लाख ५ हजार ८२६ पुगेको छ।
शनिबार थप ३ जना कोरोना संक्रमितको मृत्यु भएको छ। योसँगै कोरोना संक्रमित मृतकको संख्या १ हजार ८ सय १९ पुगेको मन्त्रालयले जनाएको छ। हाल ३६९ सय जना क्वारेन्टाइनमा छन्।
पछिल्लो २४ घण्टामा ८४० जना उपचारपछि डिस्चार्ज भएका छन्। योसँगै नेपालमा निको हुनेको संख्या २ लाख ४९ हजार १३२ पुगेको मन्त्रालयले जनाएको छ।
केही दिनयता दैनिक औसतमा ६÷७ सयको संख्यामा नयाँ संक्रमित थपिएका छन् । परीक्षण घटेकाले पनि नयाँ संक्रमण घटेको बताइएको छ । केही दिनयता मृत्युदर पनि घटेको छ ।
तर, बेलायतमा देखिएको कडा खालको कोरोना भाइरस नेपालमा समेत देखिने चिन्ताले डर बढेको छ ।