काठमाडौं, १३ पुस ।
सुरक्षा निकायमा लामो समयदेखि ठेक्का हात पार्दै आएका एक ठेकदार प्रहरी हिरासतमा पुगेका छन् । प्रहरी संगठनलाई नै पोशाक खरिदमा ठग्न खोज्नेक्राउन टेक्सटाइल इन्ड्रस्टिजका सञ्चालक पिताम्बर कुमार मुन्का र उनका कर्मचारी नरेन्द्रनाथ पौडेललाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो(सिआईबी)ले पक्राउ गरेको हो ।
मुन्काको कम्पनीले आर्थिक वर्ष २०७३/७४ मा नेपाल प्रहरीको २० हजार मिटर उलन पाइन्टको कपडा आपुर्तीको ठेक्का पाएको थियो । उनले प्रहरीलाई आपुर्ती गरेको कपडा सम्झौताअनुसार गुणस्तरीय नभएपछि प्रहरीले नलिने निर्णय गरेको थियो । उनले फेरि परीक्षणको क्रममा प्रहरीलाई ठग्ने प्रयास गरेका हुन् ।
भारतको चेन्नईस्थित एसजिएच कम्पनीमा परीक्षण गर्दा सो कपडाको गुणस्तर सम्झौताभन्दा कमजोर देखिएको थियो । मुन्काले सोही कम्पनीमा राम्रो कपडाको नमुना पठाई त्यसको रिपोर्ट प्रहरीलाई पठाउन लगाएर प्रहरीलाई झुक्याउने प्रयास गरेका थिए ।
त्यससम्बन्धमा प्रहरी प्रधान कार्यालयले एसएसपी उमेश रञ्जितकारको संयोजकत्वमा छानबिन समिति गठन गरेको थियो । सो समितिको सिफारिसका आधारमा उनलाई ठगी मुद्दा अघि बढाइएको सिआईबीले जनाएको छ ।