काठमाडौं, १३ पुस ।
नेपाल प्रहरीको डिआईजी बढुवा सिफारिस तुलनात्मक रुपमा सन्तुलित र निष्पक्ष देखिएको छ । यद्यपी यसमा प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीकै ब्याचका केही अधिकृतहरु छुटेका छन् ।
नौ जनाको बढुवा सिफारिसमा आईजिपीको ब्याचबाट सात जना परेका छन । जसमा पुरुषोत्तम कँडेल, डा. देवबहादुर बोहोरा, गणेश ऐर उमेश रञ्जितकार, रामकृपाल शाह, प्रकाश अधिकारी र राजेशलाल कर्ण छन् । बढुवामा महानिरीक्षक थापाले आफ्नो ब्याचीमाथि न्याय गरेका छन् ।
त्यस्तै, तल्लो ब्याचबाट दिवेश लोहनी र मुकुन्द आचार्य बढुवामा परेका छन् । आईजिपीको ब्याचका दिलीप चौधरी, शेखर कोइराला, किशोर दाहाल, शौरभ राणा छुटेका छन् । राणा बलत्कार घटनामा परेकाले उनी बढुवामा पर्ने सम्भावना थिएन । चौधरी डिएसपीबाट एसपी हुँदा एक नम्बरमा सिफारिस भएका थिए । तर, उनी एसएसपीबाटै अवकाश हुने अवस्था आएको छ ।
पछिल्लो ब्याचका सुशील यादब, पूजा सिंह, नरबहादुर खत्री, मोहन आचार्य, नल प्रसाद उपाध्याय, बिक्रम चन्द, मसाउद आलम खाँ लगायत पनि प्रतिस्पर्धामा भएपनि उनीहरु छुटेका छन् ।
सिनियर ब्याचीलाई समेत उछिनेर एआइजी भएका विश्वराज पोखरेलकै शैलीमा केही एसएसपीहरु बढुवा हुन चलखेलमा लागेका थिए । त्यसलाई महानिरीक्षकले असफल बनाइदिएका छन् ।
अब एसएसपी र एसपीको बढुवामा महानिरीक्षक थापाले कत्तिको अडान लिन सक्छन्, त्यसमा धेरैको चासो छ । एसएसपी बढुवाका लागि पनि दौडधुप भइसकेको छ ।