Logo
Logo

नबिलमाथि अख्तियारको आँखा


- दृष्टि न्युज/संवाददाता

3.2k
Shares

काठमाडौं, १४ पुस । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले निजी क्षेत्रका बैंक र गैरसरकारी क्षेत्रमा हुने भ्रष्टाचारको छानबिनका लागि पनि कानूनी व्यवस्था गर्न माग गरेको छ । आयोगले ती क्षेत्रको भ्रष्टाचार, अनियमितता पनि आफैंले हेर्न लबिङ गर्दै आएको छ । हाल संसदमा पुगेको अख्तियारसम्बन्धी ऐनमा आयोगलाई निजी र गैरसरकारी क्षेत्रमा हुने भ्रष्टाचारको समेत छानबिन गर्ने प्रस्ताव गरिएको छ ।

भ्रष्टाचारव्रिुद्धको राष्ट्रसंघीय अन्तर्राष्ट्रिय महासन्धिको नेपाल पक्ष राष्ट्र भएको र त्यसमा निजी र गैरसरकारी क्षेत्रको भ्रष्टाचारको समेत छानबिन गर्र्नुपर्ने व्यवस्था भएकाले पनि आयोगले यस्तो सुझाव दिएको प्रवक्ता तारानाथ अधिकारीले बताए । ‘बैंकमा जनताको पैसा हुन्छ,’ उनी भन्छन्,‘त्यस्ता संस्थाहरुमा हुने अनियमितताको छानबिन हुनुपर्छ भन्ने हाम्रो सुझाव हो ।’ पब्लिक कम्पनी, सहकारी र गैरसरकारी संघ संस्थाउपरका छानबिन गर्नुपर्नेमा आयोगले जोड दिदै आएको छ । तर, निजी क्षेत्रले भने यसको विरोध गर्दै आएको छ । बिधेयकमाथि छलफलको क्रममा पनि कतिपय सांसदले यस्तो प्रावधानको आलोचना गरेका थिए । विभिन्न पार्टीबाट समानुपातिक सांसदका रुपमा सदनमा बैंकरहरु छिरेका छन् । त्यसमध्ये नेपाली कांग्रेसबाट विनोद चौधरी सांसद छन् । चौधरीको नबिल बैंकमा ५० प्रतिशत शेयर छ । नबिल बैंकमाथि राष्ट्र बैंकले छानबिन गरेको छ । चौधरीले आफ्नो किताबकै नवील बैंकमा कानून मिचेर विदेशमा कम्पनी खोलेर लगानी गरेको स्वीकारेका छन् । स्रोतका अनुसार राष्ट्र बैंकले समेत त्यसमा छानबिन गरिरहेको छ ।

चौधरीले एनबी इन्टरनेशनल बंगलादेशमार्फत आफ्नो शेयरवापत वार्षिक अर्बौं डलर विदेश लैजाने गरेका छन् । आयरल्याण्डको डाब्लिनस्थित उक्त कम्पनीको नाममा चौधरीले शशिकान्त अग्रवाल (मेरियट होटलका मालिक)को नातेदारको नाममा बंगलादेशमा एनबी इन्टरनेशनल कम्पनी खोलेका हुन् । उक्त कम्पनीमा क–कसको लगानी छ र त्यो कम्पनीमा नबिल बैंकबाट पठाइएको रकम क–कसको खातामा ट्रान्सफर भएको छ भन्ने विषयमा राष्ट्र बैंकले छानबिन गरिरहेको छ । राष्ट्र बैंकले यस विषयमा नबिल बैंकलाई विस्तृत रिपोर्ट दिन ताकेता गरे पनि बैंकले एनबी इन्टरनेशनलको ‘ट्रान्जेक्सन’ राष्ट्र बैंकलाई उपलब्ध गराएको छैन ।

स्मरणरहोस्, तत्कालीन गभर्नर युवराज खतिवडाले नबिलको मुनाफा विदेश लैजान अनुमति दिएको थिएन । यस विषयमा तत्कालीन अख्तियार प्रमुख लोकमानसिंह कार्कीले समेत अनुसन्धान थालेका थिए । बाफियाअनुसार नेपालको मुनाफा विदेश लैजानु गैरकानूनी मात्र होइन, विदेशी मुद्राको अपचलन पनि हो । यस विषयमा छिट्टै निर्णय हुने कुरा राष्ट्र बैंक स्रोतले दृष्टिलाई जानकारी गराएको छ ।

 

प्रतिक्रिया दिनुहोस्