Logo
Logo

ठमेलको होटलबाट किन समातिए व्यापारी ?


- दृष्टि न्युज/संवाददाता

3.1k
Shares

काठमाडौं, १४ पुस । मारवाडी व्यवसायी विवेक अग्रवाल यतिबेला महानगरीय प्रहरी वृत्त लैनचौरको हिरासतमा छन् । एक युवतीलाई बलात्कार गरेको अभियोग उनीमाथि छ । बलात्कार घटनाको कहानी भने रोचक छ । मंसिरको २७ गते उनलाई एक युवतीको फोन आउँछ । युवतीकै प्रस्तावअनुसार उनी ठमेलको एक होटलमा जान्छन् । युवतीसँग सम्बन्ध राख्छन् । खल्तीमा भएको करिब १५ हजार युवतीलाई दिएर निस्कन खोज्छन् । तर, युवतीले ५० हजार माग गर्दछिन् । उनी आफूसँग त्यति धेरै पैसा नभएको बताउँछन् । दुईबीच होटलमै झगडा हुन्छ ।

त्यही बीचमा युवतीले प्रहरीको हटलाइनमा फोन गरेर आफुमाथि बलात्कार भएको बताउँछिन् । प्रहरी तत्कालै होटलमा पुगेर अग्रवाललाई नियन्त्रणमा लिन्छ ।

पक्राउ परेपछि उनले जे हो वास्तविकता त्यही बताउँछन् । तर, कानूनअनुसार उनले उन्मुक्ति पाउने अवस्था हुँदैन । सहमतिमै सम्बन्ध राखेपनि महिलाले उजुरी दिएमा त्यो बलात्कार नै सावित हुने कानुनी अवस्था छ । अझ त्यो घटनामा संलग्न युवती १७ वर्ष उमेरकी छिन् । १८ वर्षभन्दा कम उमेरकासँग सम्बन्ध सहमतिमै राखेपनि त्यो बलात्कार हुने कानूनी प्रावधान छ । प्रहरीको बयानमा उनले सम्बन्ध राखेको स्वीकार गरेका छन् ।

नियमित रुपमा ‘कलगर्ल’ हरुसँग जाने भएकाले उनको बानी थाहा भएर एक समूहले फसाउने योजनाअनुसार नै उनलाई फोन गरेर बोलाएको थियो । युवतीलाई नचिनेपनि उनी फोनकै भरमा होटल पुगेका थिए । जसको महंगो मूल्य उनले चुकाउनुपरेको छ ।

यस्ता ‘हनी ट्रापिङ’का घटना अबका दिन झनै बढ्न सक्ने प्रहरी अधिकारीहरु बताउँछन् । एक युवतीले रत्नपार्कबाट लिफ्ट मागी एक पूर्व सैनिकलाई चोभारमा लगेर लुटेको घटनासमेत गत साता सार्वजनिक भएको छ ।

प्रतिक्रिया दिनुहोस्