काठमाडौं, १४ पुस । कुनै समय थियो, अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा सरुवा हुन कर्मचारीलाई ठूले पावर चाहिन्थ्यो । एकातर्फ तबलको शतप्रतिशत भत्ता र अर्काेतर्फ आयोगको पावर । यी दुई कुराले कर्मचारी मात्र होइन प्रहरीको पनि आयोग आकर्षक गन्तव्य बनेको थियो ।
अहिले अवस्था ठिक उल्टो छ । आयोगमा कर्मचारीहरुको आकर्षण घट्दै गएको छ । आयोगमा कार्यरत कर्मचारी पनि अन्यत्र सरुवा माग्न थालेका छन् ।
गत साउनदेखि सरकारले आयोगको भत्ता कटौती गरेपछि कर्मचारीहरु सरुवा मागेर हिड्न थालेका छन् । आयोगको प्रवक्ताकै रुपमा कार्यरत तारानाथ अधिकारीको समेत ६ महिनामै सरुवा भइसकेको छ । खासगरी तल्लो तहका कर्मचारीहरु अन्यत्र सरुवाका लागि लागेका छन् ।
आयोगमा ९ सय ९० कर्मचारी कार्यरत छन् । सातै प्रदेशमा आयोगको कार्यालय छ । यति ठूलो जनशक्ति भएको आयोगले प्रभावकारी रुपमा काम भने गर्न नसकेको भनेर आलोचना खेप्दै आएको छ । भत्ता घटेसँगै आयोगको सक्रियता पनि घटेको छ । साढे पाँच महिनाको अवधिमा आयोगले जम्मा ५७ वटा मुद्दा दायर गरेको छ । जबकी अघिल्लो वर्ष ४ सय ४१ वटा मुद्दा दायर भएका थिए । भत्ता नहुँदा कर्मचारीहरुको सक्रियता नै घटन्ुलाई आश्चर्य मानिएको छ । ‘त्यही भएर होला आयोगले कर्मचारीको तलब र सुविधा बढाउन सरकारलाई सुझाव दिएको होला,’ एक उच्च प्रशासन भन्छन्,‘अख्तियार मात्र होइन भत्ता कटौती भएपछि धेरै कार्यालयमा अहिले कर्मचारीमा काम गर्ने जाँगर देखिदैन ।’