बाजुरा, १५ पुस । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का केन्द्रीय सदस्य प्रकाश शाहले प्रधानमन्त्री केपी शर्मा ओली र राष्ट्रपति विद्यादेवी भण्डारीकै कारण संसद विघटन भएको बताएका छन् । ओलीले ल्याएको अध्यादेश र विद्यादेशले देशमा ठूलो संकट उत्पन्न भएको उनले दाबी गरे ।
प्रचण्ड–माधव समूह पक्षद्धारा बुधबार मार्तडीमा आयोजित विरोध सभालाई सम्बोधन गर्दै नेता शाहले ओलीले चालेको असंबैधानिक कदमविरुद्ध सडकमा आउनुपरेको बताए । प्रधानमन्त्री र राष्ट्रपतिप्रति आक्रोश पोख्दै उनले अध्यादेश प्लस विद्यादेश बराबर सिध्यादेशमार्फत ओलीले देशलाई सिध्याउन लागेको आरोप लगाए । अध्यादेश ओलीको शासन, ओलीको संविधान, ओलीको कानुनजस्तै भएकोले ओलीको अध्यादेशलाई विद्यादेशमार्फत संकट उत्पन्न भएको शाहको भनाइ छ ।
विरोध सभाका नेता शाहले बालुवाटारे केपी ओली नेतृत्वको पार्टी आधिकारिक नभएको बताउँदै भने, ‘एउटा गुटको छुट्टै समूहलाई पार्टी भन्न मिल्दैन ।’ विरोध सभालाई सम्बोधन गर्दै नेकपाका प्रदेश कमिटी सदस्य कणर्बहादुर विकले ओलीको अलोकतान्त्रिक र असंवैधानिक कदमले देशमा राजनीतिक संकट उत्पन्न भएको बताए । पूर्वराज्य मन्त्री समेत रहेका विकले पार्टीभित्रको आन्तरिक कलहलाई समाधान गर्नुको सट्टा ओलीले पार्टीलाई नै विभाजनतर्फ धकेल्न खोजेको आरोप लगाएका छन् ।
विरोध सभालाई नेकपाका युवा नेता महेश शाही, सुदूरपश्चि प्रदेश कमिटी सदस्य कमल कुमारी शाह, दिपक बुढा, नेकपा बाजुराका सचिवालय सदस्य पुरबहादुर रावतलगायतले सम्बोधन गरेका थिए ।