काठमाडौं, १५ पुस ।
१२ वर्षअघि काठमाडौंमा भएको एक ‘हाइप्रोफाइल’ अपहरणमा संलग्न अपहरणकारी दार्जिलिङमा लुकेर व्यापार गर्दै आएको खुलेको छ । व्यवसायी बाबुराजा रावललाई अपहरण गरी फिरौती असुल्ने गिरोहका दुर्गाबहादुर बुढाथोकी प्रकाश क्षेत्रीको नाममा दार्जिलिङमा बसेर प्रकाश स्टोर नामक कपडाको होलसेल पसल चलाउँदै आएका थिए ।
विदेश बसेर नाम फेरे पनि उनले आफ्नो पुरानो अपराध भने लुकाउन सकेनन् । बुढाथोकीलाई नेपाल प्रहरीको केन्द्रीइ अनुसनधान ब्यूरो(सिआइबी)ले बुधबार पक्राउ गरेको छ ।
उनीसहितको समुहले १ पुस २०६५ मा भ्याली कोल्ड स्टोरका मालिक रावललाई अपहरण गरी डेढ करोड फिरौती लिएर छाडिदिएको थियो । जसमा प्रल्हाद महत, विकास कार्की, विनोद कार्की, अनिल गुरुङ लगायत सहभागी थिए । महत लगायतका अपहरणकारी त्यतीबेला नै पक्राउ परेपनि बुढाथोकी भने लामो समयसम्म लुक्न सफल भएका थिए ।
बुढाथोकी विगतमा मोटरसाइकल चोरी तथा गुन्डागर्दीमा ंसंलग्न थिए । २५ बैशाख २०६४ मा उनले एभरेष्ट होटलको पार्किङबाट मोटरसाइकल चोरी गरेकोमा पक्राउ परेका थिए । महानगरीय प्रहरी वृत्त बानेश्वरको हिरासतको ग्रिल तोडेर भागेका थिए । फरार रहेकै बेला महतको समूहसँग मिलेर उनले व्यवसायी रावललाई गाडीमा राखी टोखामा लगेर बन्धक बनाई फिरौती असुलेका थिए ।