Logo
Logo

महालक्ष्मी बैंकमा ७ करोड हिनामिनाका योजनाकार समातिए


- दृष्टि न्युज/संवाददाता

1.2k
Shares

काठमाडौं, १६ पुस ।
महालक्ष्मी विकास बैंकको कुमारीपाटी शाखामा करिब सात करोड हिनामिना गर्ने घटनाका प्रमुख योजनाकार समातिएका छन् । बैंककै पूर्व कर्मचारी ६७ वर्षीय पदमचन्द्र ज्ञवालीलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले पक्राउ गरेको छ ।


उनी बैंकको कुमारीपाटीस्थित शाखा जाँचकीका रुपमा कार्यरत रहँदा पाँच किलो सुन राखेर १२ किलो भएको भनेर प्रतिवेदन दिएका थिए । ज्ञवाली ०६९ देखि शाखा कार्यालयमा सुन जाँचकीका रूपमा करारमा काम गर्दै आएका थिए । उनैको मिलेमतो कम परिणामको सुन राखी धेरै कर्जा प्रवाह गरेको अनुसन्धानबाट खुलेको छ । प्रारम्भिक अनुसन्धानबाट उनको मिलेमतोमा सात करोड ४२ लाख ६१ हजार सात सय ४३ रुपैयाँ बैंकलाई हानि भएको पाइएको छ । ‘बैंकमा १७ किलो सुन हुनुपर्ने थियो । जाँच गर्दा पाँच किलो सुन मात्रै भेटियो । १२ किलो सुन बैंकमा नभेटिएपछि उनी अनुसन्धानको घेरामा परे,’ सिआइबी प्रमुख डिआइजी सहकुल थापाले भने, ‘बैंकलाई क्षति पुगेको भनिएको झन्डै साढे सात करोड रुपैयाँ त्यही सुनबापतको हो ।’

अनुसन्धानमा संलग्न प्रहरीका अनुसार उनकै मिलेमतोमा बैंकले खोटाङको साकेला गाउँपालिका–२ का ४० वर्षीय देवानन्द राई, ३२ वर्षीय पूर्ण राई र धनकुटाको साँगुरीगढी गाउँपालिका–४ का २५ वर्षीय सन्दीप लिम्बूलाई ऋण प्रवाह गरेको थियो । उनीहरूलाई दुई साताअघि नै सिआइबीले पक्राउ गरेको छ ।

घटनामा संलग्नता रहेको आंशकामा प्रहरीले महालक्ष्मी बैंकका शाखा प्रबन्धक गौशलाकी ४२ वर्षीय स्मृति राणा, अर्को शाखा प्रबन्धक सतुंगलकी ३९ वर्षीय पिंकु पालिखे र विराटनगर–१५ का अर्का शाखा प्रबन्धक ३७ वर्षीय अनिससिंह सिजापती पनि पक्राउ गरेको छ । प्रहरीले ऋणीलाई २६ मंसिर र शाखा प्रबन्धकहरूलाई ५ पुसमा पक्राउ गरेको हो । उनीहरूकै बयानबाट थप व्यक्तिहरूको पहिचान हुने प्रहरी अधिकारीहरू बताउँछन् । उनीहरू पक्राउ परेलगत्तै जाँचकी ज्ञवाली भने फरार भएका थिए ।

प्रतिक्रिया दिनुहोस्