काठमाडौं, १७ पुस ।
इन्स्टाग्राम र ह्वाटस् एपका माध्यमबाट साथी बनाई १३ लाख ३९ हजार रुपैयाँ ठगी गरेको अभियोगमा २ जनालाई बुधबार प्रहरीले पक्राउ गरेको छ। रुपन्देही मर्चवारी गाँउपालिका(४ बस्ने २९ वर्षीय धर्मेन्द्र उपाध्याय र सोही ठाउँ बस्ने ४५ वर्षीय अनन्त कुमार उपाध्यायलाई महानगरीय अपराध महाशाखाले पक्राउ गरेको हो ।
उनीहरूले इन्स्टाग्राम र ह्वाटस एपमा फेक आइडीमार्फत् सम्पर्क गरी आफूलाई नेदरल्यान्डको नागरिक र केमिकल इन्जिनियर बताई ठगी गर्ने गरको थिए।
आइफोन ११ मोबाइल, ल्यापटप र सुनलगायत बहुमूल्य सामानहरुको बक्स गिफ्ट पठाइदिएको र भन्सार तिर्नका लागि रकम पठाउनुपर्छ भनेर प्रलोभन देखाई पैसा पठाउन लगाएर उनीहरुले ठगी गरेका थिए।
बैंकहरूको खाता नम्बरमा रकम जम्मा गर्न लगाई ठगी गरेको घटनाको अनुसन्धानका क्रममा महानगरीय अपराध महाशाखाबाट खटिएको प्रहरीले जिल्ला प्रहरी कार्यालय रुपन्देहीको सहयोगमा रुपन्देहीमा लुकीछिपी बसेका उनीहरूलाई पक्राउ गरेको हो।
सामाजिक सञ्जालबाट चिनजान गरी करोडौको उपहार पठाएको भनेर झुक्याई त्यसको कर तिर्न लगाएर ठगी गर्ने गिरोह सक्रिय रहेकाले यसमा विश्वास नगर्न प्रहरीले आग्रह गरेको छ ।