काठमाडौं, २१ पुस । देशको ध्यान यतिबेला संसद बिघटनविरुद्ध सर्वाेच्च अदालतले के गर्ला भन्नेमा छ । संसद बिघटन र नेकपा विभाजनका कारण देशको राजनीतिक कता जाने हो भन्नेमा सबैलाई चासो र चिन्ता छ ।
यस्तो अवस्थामा दुई नम्बरी धन्दा गर्नेहरु भने सक्रिय हुन थालेका छन् । कतिसम्म भने यही मौकामा गोरु तस्करी समेत सुरु भएको छ । लुम्बिनी प्रदेशमा डिआईजीसम्मकै सेटिङमा गोरु तस्करी सुरु भएको स्रोत बताउँछ ।
बाँकेमा रातिराति प्रहरीकै स्कर्टिङमा गोरु तस्करी हुने गरेको छ । बाँकेको गजुवा गाउँपालिका, रहनियापुर, राँजा, शमशेरगञ्ज हुँदै इलाका प्रहरी कार्यालय कोहलपुरले स्कर्टिङ गर्दै आएको छ । डिएसपी कुलदीप चन्द र सई रणवीर चौधरीले यसरी स्कर्टीङ गराउँदै आएका छन् । इप्रका कोहलपुरमा लामो समयदेखि सई चौधरीको सेटिङ चल्दै आएको छ । मुद्दा शाखामा कार्यरत उनै चौधरीले सबैसँग कारोबार मिलाउने र हाकिमलाई बुझाउने गरेको स्रोत बताउँछ ।
गोरु तस्करीमा भने प्रदेशका डिआईजी रबिन्द्र धानुककै समेत मिलमेतो रहेको स्रोत बताउँछ । बाँकेबाट दाङ हुँदै पूर्वी जिल्लामा खुलेआम तस्करी हुने गरेको छ । केही दिनअघि शमशेरगञ्जमा केही प्रहरीले गोरु लोड गरिएका ट्रक रोकेपनि डिआईजीको आदेश भन्दै छाडिएको थियो । लुम्बिनीका साथै प्रदेश नम्बर २ र प्रदेश नम्बर १ केही प्रहरीसँग समेत गोरु तस्करहरुले सेटिङ मिलाएर काम सुरु गरेका छन् । पश्चिमी जिल्लाहरुमा गोरु संकलन गरी झापाबाट भारत हुँदै बंगलादेश तस्करी हुने गरेको छ । यसमा धेरै पैसा हुने भएकाले ठूलो गिरोह सक्रिय हुँदै आएको छ । अहिले अस्थिर राजनीतिको फाइदा उठाउँदै तस्करीको समूह सक्रिय भएको हो ।