Logo
Logo

गुन्डागर्दी र तस्करी रोक्न जिल्ला इन्चार्जलाई प्रहरी महानिरीक्षकको निर्देशन


- दृष्टि न्युज/संवाददाता

2.8k
Shares

काठमाडौं, २४ पुस ।
प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले हालै सरुवा भई जान लागेका प्रहरी उपरीक्षकहरु र प्रहरी नायव उपरीक्षकहरुलाई प्रहरी प्रधान कार्यालयमा बिहीबार आयोजित एक समारोहमा आवश्यक निर्देशन दिए ।


उक्त अवसरमा प्रहरी महानिरीक्षक थापा क्षेत्रीले हालको परिस्थितिलाई मनन र विष्लेषण गरी सोही अनुरुपको कार्य योजना बनाई अगाडि बढ्न सरुवा भई जान लागेका प्रहरी अधिकृतहरुलाई निर्देशन दिए । हालको सुरक्षा चुनौति व्यवस्थापन, तस्करी तथा गुन्डागर्दी नियन्त्रण र नेपाल सरकारद्वारा घोषित निर्वाचनलाई मध्यनजर राखी आवश्यक तयारीमा जुट्नुपर्नेमा उनले जोड दिएका छन् ।

प्रहरी महानिरीक्षक थापा क्षेत्रीले हालै संगठनले लागू गरेको नेपाल प्रहरी कार्य योजना र प्रहरी कर्मचारीले पालना गर्नुपर्ने आचार संहिता लगायतका नीति निर्देशनलाई अक्षरस पालना गरी लागू गर्नुपर्ने बताए । सेवाग्राहीले देख्ने र भोग्ने गरी प्रहरी कार्यमा सकारात्मक परिवर्तन आएमा तपाईको उपस्थिति सार्थक हुने हुनाले सबैले आफ्नो कर्तव्य र संगठनले दिएको जिम्मेवारी पूरा गर्नुपर्ने महानिरीक्षकको जोड थियो । कार्यालय व्यवस्थापन, साधनस्रोतको उचित परिचालन र मर्मत सम्भार लगायतका दैनिक क्रियाकलापमा विशेष ध्यान दिई चुस्त दुरुस्त रुपमा प्रस्तुत हुन समेत उनले निर्देशन दिएका छन् ।

प्रहरी प्रधान कार्यालयले यही पुस २१ गते ३० जना प्रहरी उपरीक्षकहरु र ६९ जना प्रहरी नायव उपरीक्षकहरुको सरुवा गरेको थियो ।
समारोहमा प्रहरी अतिरिक्त महानिरीक्षकहरु, प्रहरी नायव महानिरीक्षकहरु, वरिष्ठ प्रहरी अधिकृतहरु लगायत प्रहरी अधिकृत तथा प्रहरी जवानहरुको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्