काठमाडौं । मेगा बैंक नेपाल लिमिटेडले विपन्नवर्ग, महिलाद्धारा सञ्चालित लघु, घरेलुका साथै साना तथा मझौला उद्यम व्यवसायहरुलाई प्रवद्र्धन गर्ने उद्देश्यले नेपाल उद्यमशील महिला महासंघसँग सम्झौता गरेको छ ।
सम्झौतापत्रमा बैंककी प्रमुख कार्यकारी अधिकृत अनुपमा खुञ्जेली र नेपाल उद्यमशील महिला महासंघकी अध्यक्ष देविका बुढाथोकीले हस्ताक्षर गरेका छन् । सम्झौतापश्चात मेगा बैंकले महासंघसँग आवद्ध उद्यमी महिलाहरुलाई आफ्नो व्यवसाय विस्तार गर्नको लागि साना तथा मझौला कर्जा एवं नेपाल राष्ट्र बैंकको सहुलियतपूर्ण ब्याज अनुदान कर्जा निर्देशिका र बैंकको सहुलियतपूर्ण ब्याज अनुदान कर्जा कार्यविधिको अधिनमा रही सहुलियतपूर्ण कर्जा प्रदान गर्नेछ ।
कार्यक्रममा बोल्दै बैंककी प्रमुख कार्यकारी अधिकृत खुञ्जेलीले महिला उद्यमीहरुलाई सहुलियतपूर्ण कर्जा बैंकका सबै शाखा कार्यालयहरु मार्फत छिटो छरितो ढंगले प्रदान गर्ने प्रतिबद्धता व्यक्त गरिन् । साथै महासंघकी अध्यक्ष बुढाथोकीले मेगा बैंकले महिला उद्यमशील कर्जालाई प्राथमिकताका साथ प्रवाह गर्दै आएकोले बैंकसँग सहकार्य गर्न लागेको कुरा व्यक्त गरिन् । उक्त सम्झौतापश्चात बैंकले महासंघसँग आवद्द उद्यमी महिलाहरुलाई देशभरका शाखाहरुबाट प्राथमिकताका साथ सहुलियतपूर्ण कर्जा सेवा उपलब्ध गराउने छ ।