Logo
Logo

प्रचण्ड–माधव पक्षले माघ ९ गते काठमाडौंमा बृहत् प्रदर्शन गर्ने


- दृष्टि न्युज/संवाददाता

378
Shares

काठमाडौं, ३ माघ ।नेकपा प्रचण्ड–माधव पक्षले माघ ९ गते संसद विघटन विरुद्ध काठमाडौंमा बृहत प्रदर्शन गर्ने भएको छ । आज (शनिबार) पेरिसडाँडामा बसेको केन्द्रीय संघर्ष, उपत्यका संघर्ष समिति, बाग्मती प्रदेश कमिटी, सम्पर्क विशेष कमिटी तथा जनवर्गीय र पेशागत संगठनको संयुक्त विस्तारित बैठकले माघ ९ गते काठमाडौंमा प्रदर्शन गर्ने निर्णय गरको हो । प्रधानमन्त्रीद्वारा चालिएको प्रतिगामी, प्रतिक्रान्तिकारी तथा असंवैधानिक कदमका विरुद्ध अग्रगमन, लोकतन्त्र तथा संविधान र जनअधिकारको रक्षाका लागि विरोध प्रदर्शन गर्ने तय भएको केन्द्रीय संघर्ष समितिका सह संयोजक समेत रहेका योगेश भट्टराईले जानकारी दिए ।

प्रदर्शनको तयारीका लागि माघ ४, ५ र ६ गते प्रदेश, जिल्ला, निर्वाचन क्षेत्र, पालिका, वडा र शाखा कमिटी, सम्पर्क तथा जनवर्गीय संगठनका तहगत कमिटीका बैठक आयोजना गरेर तयारीमा जुट्न पार्टी पंक्तिलाई निर्देशन समेत दिइएको छ । माघ ६, ७ र ८ गते पर्चा वितरण, कोणसभा, माइकिङ, साँस्कृतिक प्रचार सभा सहितका सिर्जनात्मक प्रचार कार्यक्रम पनि तय गरेकाे छ । प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्या भण्डारीले संसद विघटन गरेलगत्तै त्यसको विरुद्धमा नेकपा प्रचण्ड–माधव पक्षले देशव्यापी रुपमा विरोध प्रदर्शनका कार्यक्रम गर्दै आएका छन् ।

प्रतिक्रिया दिनुहोस्